शिक्षा विकास प्रमुखमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति

 चैत ११, २०७५ सोमबार २०:२२:५७ | विमल बिष्ट
unn.prixa.net

डोटी - शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख अनन्त कुमार पौड्यालमाथि भएको अभद्र व्यवहारको शिक्षक संगठनले आपत्ति जनाएका छन् । 

कार्यकक्षमा काम गरिरहेको बेला प्रमुखमाथि आइतबार भएको घटनाको सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । 
घटनाका सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीलाई भेट्न गएको शिक्षकहरुको एक टोलीले दोषीलाई कानुनी कारबाहीमा नल्याए कडा संघर्षका कार्यक्रम तय गर्ने बताएको छ ।

कार्यकक्षमै यस्तो दुव्र्यवहार गर्नुले कुनै पनि कर्मचारी सुरक्षित नभएको स्पष्ट भएकोले दोषी कुनै पनि बहानामा उम्किन नहुने नेपाल शिक्षक महासंघका सह–अध्यक्ष बलबहादुर विष्टले बताउनुभयो ।

नेपाल शिक्षक महासंघका सह–अध्यक्ष बलबहादुर विष्ट, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गणेशबहादुर कठायत र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामबहादुर ऐरले जारी गरेको विज्ञप्तिमा कपालेकल्पित, भ्रामक तथा पूर्वाग्रह साँध्नका लागि यस्तो घटना गरिएको उल्लेख गरिएको छ । 

कानुन हातमा लिएर आफ्नो तालुकदार अड्डाका प्रमुखमाथि भएको अमानवीय व्यवहार सह्य नहुने नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गणेशबहादुर कठायतले बताउनुभयो । 

त्यसैगरी, उक्त घटना अमानवीय व्यवहार भएको बताउँदै कर्मचारी मिलन केन्द्र डोटी तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि घटनाको विरोधमा विज्ञप्ति पकाशित गरेका छन् । 

दाषी कुनै पनि हालतमा उम्कन नपाउने भन्दै डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले घटनामा संलग्न ४ जनाको खोजी भैरहेको जानकारी दिनुभयो । 

घटनामा संलग्न भनिएका बिजयराज ओझा, प्रबिण उपाध्याय, रमेशबिक्रम खड्का र प्रकाश ठकुल्लाका विरुद्धमा सार्वजनिक नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया