एसईई परीक्षा: सिरहामा दुई निरीक्षक निष्कासित, ११ परीक्षार्थीको परीक्षा रद्द

 चैत १३, २०७५ बुधबार १७:३३:५४ | आशिष विश्वकर्मा

सिरहा – सिरहामा बुधबार भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित गतिविधि गरेको भन्दै २ जना निरीक्षक निष्कासनमा परेका छन् भने ११ जना विद्यार्थीको परीक्षा रद भएको छ । 

परीक्षामा विद्यार्थीाई चिट चोर्न सहयोग गरेको भन्दै चन्द्र मा.वि. परीक्षा केन्द्र सिरहा, र सारस्वर मा.वि. परीक्षा केन्द्रबाट एक एक जना शिक्षक निष्कासनमा परेका हुन् ।

परीक्षा हलभित्रै मोबाइल लगेर प्रश्नपत्र आउट गर्ने तथा अमर्यादित गतिविधि गरेको आरोपमा लहानको बस्तिपुर मा.वि. परीक्षा केन्द्रका ८ जना, सिरहाको सारस्वर मा.वि. परीक्षा केन्द्रका २ जना र चन्द्र मा.वि. परीक्षा केन्द्रबाट १ विद्यार्थीको परीक्षा रद गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले जनाकारी दिनुभयो ।  

निष्कासनमा परेका सबै विद्यार्थीको बुधबारको परीक्षा रद गरिएको पनि इकाई प्रमुख पाण्डेयले जनाउनु भयो ।  निष्कासनमा पर्ने प्राय विद्यार्थी निजी विद्यालयको रहेको जनाइएको छ । 

त्यसैगरी, सिरहाको जनता माध्यमिक विद्यालय, धनगढीमाई नपा ७ अयोध्यानगर कसहामा सेटिङ्गमै चिट चोरी हुने गरेको छ । परीक्षा केन्द्रसँगै गाँसिएका घरहरुमा बसेर विशेषगरी निजी विद्यालयका शिक्षकहरुले सुरक्षाकर्मीकै अघिल्तिरबाट चिट पुर्याउने गरेको पाइएको छ । 

अयोध्यानगर परीक्षा केन्द्रभित्रै छ्यापछ्यापती चिट भेटिए पनि केन्द्राध्यक्ष मूकदर्शक बनेको अनुगमनमा पुगेका एक सञ्चारकर्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षार्थीको साथबाट चिट निकालिए पनि किन कारबाही नगरेको भन्दासमेत उहाँहरु हामीले मर्यादित गरेका छौं भन्दै पन्छिनुभयाे ।’

बाहिरबाट चिट आइरहेको विषयमा बुझ्दा परीक्षा केन्द्राध्यक्ष राजलाल रायले आफूहरुले केन्द्रभित्र परीक्षा कडा गरेको बताउनुभयाे । उहाँ ‘हामीले भित्र राम्रोसँग परीक्षा लिइरहका छौं, बाहिरको जिम्मा सुरक्षाकर्मीको हो’ भन्दै पन्छिनुभयाे ।

केन्द्रमा ४ वटा विद्यालयका दुई सय ३ जना विद्यार्थी परीक्षामा सहभागी रहेका छन् । त्यसमध्ये ३ वटा निजी विद्यालयका विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया