१० महिनादेखि बन्द मलेसियाको रोजगारी दुई, तीन दिनभित्रै खुल्ने

 चैत १३, २०७५ बुधबार १८:१६:२० | उज्यालो सहकर्मी

काठमाण्डौ  – १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ले भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायीस संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा खुल्ले जानकारी दिनुभएको हो । 

त्यसका लागि प्रक्रिया अघि बढिसकेको जानकारी मन्त्री विष्टले गराएकाले ढिलोमा आइतबारसम्म वा त्योभन्दा छिट्टै खुल्ने टुङ्गो लागेको भेटमा सहभागी एक व्यवसायीले बताए ।

पहिलो चरणमा कलिङ भिसा आएर रोकिएकालाई एक साताभित्र मलेसिया पठाउने मन्त्रालयको तयारी छ । कलिङ भिसा आएर पनि जान नपाएकाहरुलाई श्रम स्वीकृति दिलाउन मन्त्रालयले नै पहल गर्नेभएको छ । 

नयाँ जान चाहनेका लागि भने मलेसियाले केही दिनअघि पठाएको  स्वस्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया गरिने भएकाले केही समय लाग्ने भएको छ ।

 मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि बुधबार सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ । 

प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो । 

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । 

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।
 

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया