माथिल्लो तामाकोशी निर्माण गर्न रकम अभाव हुने

 चैत १४, २०७५ बिहिबार १५:१६:२८ | उषा तामाङ
unn.prixa.net

फाइल फाेटाे

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गर्न रकम अभाव हुने भएको छ । 

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गर्न रकम अभाव भएको हो । 

तत्कालका लागी रकम अभाव नभए पनि वैशाख महिनापछि भने रकम अभाव हुन सक्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका लागि ७ अर्ब ७० करोड रुपैयाँ रकम अपुग हुने भएको हो । अभाव रकम परिपूर्तिका लागि आयोजनाले पहल गरिरहेको बताएको छ । 

भूकम्पका कारण २ वर्ष रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङ नयाँ बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेर भएको, निर्माण अवधि बढ्दा ठेक्कामा मूल्य समायोजन भएको तथा विदेशी विनिमय दरमा भएको वृद्धिले आयोजनाको समग्र लागत वृद्धि हुँदा नगद अभाव हुने अवस्था आएको हो । 

आयोजनाको सुरुमा अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । त्यतिबेला एक अमेरिकी डलरको सटहीदर ८० रुपैयाँ थियो । 

अहिले एक अमेरिकी डलरको औसत सटहीदर ९७ दशमलब ६ रुपैयाँ कायम गरी आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक ४९ अर्ब २९ करोड ५५ लाख पुग्ने संशोधित अनुमान गरिएको छ । यसमा नेपाली मुद्राको अवमूल्यन र मूल्य वृद्धिका कारण आयोजनामा १२ अर्ब रकम थप वित्तीय दायित्वसमेत समावेश गरिएको जनाएको छ । 

दोलखाको उत्तरी विगु गाउँपालिका वडा नम्बर–१, लामाबगरमा निर्माण भइरहेको यो आयोजना २०७६ को मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया