दोलखाका ९ जना भूकम्प प्रभावितले लिए सहुलियत कर्जा

 चैत १६, २०७५ शनिबार १६:५६:३४ | उषा तामाङ
unn.prixa.net

दोलखा - भूकम्प पीडितको निजी आवास निर्माणका लागि ब्याज अनुदानमा प्राप्त हुने कर्जा दोलखाबाट ९ जना प्रभावितले लिएका छन् ।

जिल्लाका विभिन्न बैंकमा १५ भूकम्प प्रभावितले निवेदन दिएकामा ९ जनाले सहुलियत कर्जा लिएका छन् भने ५ जना प्रक्रियामा छन् । सहुलियत कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकबाट १ जना, नबिल बैंक र प्रभु बैंकबाट समान ४–४ जना भूकम्प प्रभावितले सहुलियत कर्जा पाएका हुन् ।

यसैबीच मेगा बैंक चरिकोटमा एक जना भूकम्प प्रभावितले सहुलियत कर्जाका लागि निवेदन दिएकाेमा कुनै प्रक्रिया सुरु भएको छैन । विभिन्न बैंकमा भूकम्प प्रभावितको ५ वटा निवेदन प्रक्रियामा रहेको जनाएको छ । 

नेपाल सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५ जारी गरेसँगै आर्थिक अभावमा घर बनाउन नसकेका भूकम्प प्रभावितले ऋण पाउन थालेका हुन् ।

निजी आवास निर्माण गर्न सम्झौता गरी ५० हजार लिएर पनि आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका, ऋणी वा उसको परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य घर नभएको र सरकारले दिएको अनुदान बाहेक अन्य अनुदान नपाएका भूकम्प प्रभावितले ३ लाख रुपैयाँ कर्जा लिएका हुन् ।  

बैंकको नियमानुसार निर्धारण गरिने ब्याजदरमा नेपाल सरकारले ब्याज अनुदान सुविधा बापत ५ प्रतिशत र बाँकी ब्याज भूकम्प प्रभावितले तिर्नुपर्नेछ । भुकम्प प्रभावितले लिएको कर्जा ५ वर्षभित्र चुक्ता गर्नुपर्नेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया