शान्ति सम्झाैतामा हस्ताक्षर गर्नेलाई ‘गिरफ्तार गरेर जेल हाल्नु पर्‌‍‍‍याे’ भन्नु कत्तिकाे तर्कसंगत छ? : प्रचण्ड

 चैत १७, २०७५ आइतबार १३:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई उल्टाउने मनसायकाले षडयन्त्र भइरहेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डाैमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियानविरुद्ध षडयन्त्र भएको दाबी गुर्नभएको हो ।

प्राप्त उपलब्धिलाई नोक्सान पुर्‍याउनका लागि विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता, संविधान निर्माण गर्ने व्यक्ति वा त्यसको नेतृत्व लिने व्यक्तिमाथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुको गलत प्रवृत्ति देशमा देखा परेको टिप्पणी उहाँले गर्नुभयो ।

त्यस्तो प्रवृत्तिलाई छुट दिने तथा समयमै जनमतद्वारा परास्त नगर्ने हो भने सम्मृद्धि र विकासको महाअभियानको संकल्प प्रभावित हुन सक्ने भन्दै उहाँले सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

आफ्नो अमेरिका भ्रमणका क्रममा पनि त्यस्तै प्रवृत्ति देखा परेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी शान्ति सम्झौताको समर्थन गर्छौ ।  राजनीतिक स्थायित्वको समर्थन गर्छौ । राजनीतिक समझदारी र राष्ट्रिय समझदारीको समर्थन गर्छौ भने एउटा नेपालीले यो प्रक्रियामा सहभागी नेतृत्वलाई अपराधीको रुपमा हत्याराका रुपमा दुनियाँको अगाडि, त्यो पनि विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झाैतालाई आपराधिक सम्झौताको रुपमा त्यसको हस्ताक्षर कर्तालाई एउटा अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले ‘गिरफ्तार गरेर जेल हाल्नु पर्‌‍‍‍याे’ भन्नु कति तर्कसंगत छ ? यसले हाम्रो राष्ट्रियआवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ?’

अमेरिकामा बस्दै गर्दा वासिङटन डीसीकाे नेपाली कांग्रेसको समितिले  प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको तर्फ उहाँले नेपाली कांग्रेसको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रिय एकता र महत्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर पार्नेगरी र बदनाम गर्नेगरी या नेपालीका बीचमा कायम भएको एकता बिथोल्ने प्रयास भइरहेको पनि उहाँले दावी गर्नुभयो । निर्वाचनको समयमा तराई-मधेस, पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफूले ठुलो मेहनेत गरेको भन्दै उहाँले एकताका लागि गरिएको प्रयास नै गलत थियो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘के मैले शान्ति सम्झौता गर्नु अपराध थियो? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौ ती कुराहरु गलत हुन् ? ’ 

सम्मृद्धिको नया अभियानतर्फ मुलुकलाई लैजाने विषय कोही व्यक्ति विशेषको एक्लो प्रयास मात्रै नभएको भन्दै उहाँले निकै कठिनाइका साथ विचार, नेतृत्व, अभियान र जनताको सहयोगको विशिष्ट संयोजनबाट मात्रै दुई तिहाइको सरकार बन्ने अवस्था श्रृजना भएको बताउनुभयो ।

यस ऐतिहासिक उपलब्धिलाई नमिठो र तीतो ढंगले आक्रमण गर्ने काम भएको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो ।

असाध्यै जटिल र चुनौतीपूर्ण परिस्थितिबाट नेपालको इतिहासलाई नया मोड दिइसकेको र त्यसका लागि प्रमुख राजनीतिक दल, नेता लगायतको सहमति र सहयोग रहेको भन्दै उहाँले नया संकल्पका लागि एकतावद्ध हुन आह्वान गर्नुभयो ।

उहाँले राष्ट्रका अगाडि रहेका प्रमुख समस्या समाधान गर्नका लागि शान्ति सम्झौता देखि संक्रमणकालको समापन, संविधान निर्माण, निर्वाचन, नया संरचना र ऐन निर्माणमा जस्तै मुलुकलाई नया युग तर्फ लैजान पनि राष्ट्रिय सहमति र संकल्पको खाँचो रहेको औल्याउनुभयो । व्यक्ति विशेष भन्दा नेपाल र नेपालीको एकता र संघिय लोकतान्त्रिक गणतन्त्र र सम्मृद्धिको अभियान रहनुपर्ने भन्दै उहाँले राष्ट्रको मुल एजेण्डामा एकताबद्ध हुन आह्वान गर्नुभयो ।

देशबाट हटिसकेको राजसंस्था फर्काउनका लागि भइरहेका क्रियाकलापको कुनै अर्थ नरहेको टिप्पणी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोही पनि निरंकुशतावादी शक्ति, कोही पनि इतिहासको मञ्चबाट मिल्काईएको शक्ति, सजिलै त्यसलाई आत्मसाथ गर्दैन र  मौकापाए सम्म फेरी पुनस्थापित हुने कसरत गरिराख्छ ।’

इतिहासको सत्यता र नेपालको आवश्यकतालाई सतही ढंगले व्याख्या नगर्न पनि उहाँले सचेत गराउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया