वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
स्याङ्जा – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले सरकारले अनावश्यक रुपमा विखण्डनवादी सीके राउतलाई प्राथमिकता दिएर गल्ती गरेको बताउनु भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उहाँले दाबी गर्नुभयो ।
‘सरकारले त राज्यलाई कुन तत्वले बढि क्षति पुर्याउँछ भन्नेतर्फ केन्द्रित हुनुपर्ने हो, तर सरकारले त्यसतर्फ ध्यान दिन सकेन’, नेपाल प्रेस युनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भन्नुभयो, ‘राउतसँग गरेका सहमतिमा सरकार र राउतले आ–आफ्नै ढङ्गले व्याख्या गर्नु सरकारको कमजोरी हो ।’
‘विखण्डनवादीलाई प्राथमकिता दिँदा नागरिकमा नकारात्मक सन्देश भएको छ’, नेता कोइरालाले भन्नुभयो, ‘राउतसँगको सहमतिमा सत्ता पक्षकै नेताहरुको फरक–फरक धारण आउनु सरकारको लाचारीपन हो ।’ ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनुको सट्टा वार्ता गर्नुपर्ने हो, तर सरकार उल्टो बाटोमा हिँड्यो’, उहाँले भन्नुभयो ।
महामन्त्री शंशाक कोइरालाले आफूले धार्मिक स्वतन्त्रता चाहिने अभिव्यक्ति दिएको तर हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्ने भनाइ नबोलेको स्पष्ट पार्नुभयो । नेपाललाई हिन्दू राष्ट्र घोषणाको माग गर्नु नागरिकको मुद्दा भएको उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सरकारप्रति बढी आक्रामक देखिएका कोइरालाले वाइडबडी जहाज खरिद, निर्मला पन्तको हत्या, सुन तस्करी, भ्रष्टाचार र महंगी संस्थागत हु“दासमेत सरकार निदाए जस्तो गरेको उहाँको आरोप थियो । प्रधानमन्त्रीले शक्ति केन्द्रिकृत गर्दै जानु अधिनायकवादतर्फ उन्मुख बनेको उहाँले टिप्पणी गर्नुभयो ।
‘सरकार नागरिकका दैनिक समस्या समाधान गर्नेतर्फ आफूलाई उभियाउन सकेको छैन’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘विकासका नाममा ठूला कुरा गर्ने, तर नागरिकका दैनिक समस्यालाई आँखा चिम्लने, यो कस्तो सरकार हो ?’
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रीय तथा अनुशासन समितिका सदस्य धनराज गुरुङ्ले कांग्रेसका विधि विधान उल्लंघन गर्ने जो कोहस्लाई पनि कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
‘अनुशासन समिति बनेको छ, नियम र पद्धति नमान्नेलाई कारबाही हुन्छ’, नेता गुरुङ्ले भन्नुभयो, ‘समितिमा यही चैत मसान्तसम्म उजुरी दिने समय रहेको र समयसीमाभित्र आएका उजुरीलाई छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाहीको दायरामा ल्याइन्छ ।’
पार्टी सभापतिविरुद्ध परेको उजुरीका बारेमा भने गुरुङले सभापति देउवाविरुद्ध उजुरी परे नपरेको अनविज्ञता दर्शाउनुभयो ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।