हावाहुरीमा परि ज्यान गुमाउनेको परिवारलाई ५ लाखका दरले राहत दिइन्छ : प्रचण्ड

 चैत १९, २०७५ मंगलबार १९:१८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा आँधीहुरीमा परि ज्यान गुमाएका परिवारलाई  ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गर्नु भएको छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका दाहालले आँधी र हुरीको मारमा परेका फेटा गाउँपालिकामा मंगलबार आयोजित राहत वितरण कार्यक्रममा बोल्दै आँधीहुरीले क्षति पुर्‍याएका घरहरुको निर्माण गरिदिने सरकारले निर्णय गरेको पनि पीडितलाई जानकारी गराउनुभयो । उहाँले घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले मिलाएको उल्लेख गर्दै आँधी र हुरीले प्रभावित क्षेत्रका जनताको पीडालाई सम्बोधन गर्न सिंगो देश तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले आँधीहुरीमा परि नष्ट भएका बालिनालीको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । अध्यक्ष दाहाल आँधीहुरी प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार बिहान त्यहाँ पुग्नु भएको थियो ।

त्यसक्रममा उहाँले नारायणी क्षेत्रीय अस्पताल, नेसनल कलेजमा पुगी उपचार गराइरहेका घाइतेहरुसँग पनि भेट गर्नु भएको थियो । आइतबार साँझ आएको आँधीहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको ज्यान गएको थियो भने सयौंको घर र बालीनाली नष्ट भएको थियो ।

यसैबीच, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आँधीहुरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । त्यसैगरी वरिष्ठ चिकित्सक गोविन्द केसी पनि आँधीहुरीबाट घाइते भएकाहरुको उपचारका लागि मंगलबार नै प्रभावित क्षेत्रमा पुग्नु भएको छ ।

 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया