धनी र गरिबबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई नेकपा अध्यक्ष प्रचण्डकाे सुझाव

 चैत २०, २०७५ बुधबार १४:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले धनी र गरिबबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ ।

अध्यक्ष दाहालले सरकारका आउँदाे बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

बुधबारबाट काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधारपत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उहाँले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । पढेको जनशक्ति विदेश पलायन हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह गर्नुभयो । उहाँले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया