‘टोर्नाडो’को स्थलगत अध्ययन गर्दै मौसमविद् टोली

 चैत २५, २०७५ सोमबार ७:१५:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – गएको साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ । 

वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । 

विभागका महानिर्देशक सरजु वैद्यले टोलीमा विभागका तीन, इसिमोडका दुई र द स्मल अर्थ नेपालका एक गरी छ मौसमविद् रहेको जानकारी दिँदै टोली स्थलगत अध्ययनबाट फर्केपछि ‘टोर्नाडो’का बारेमा आधिकारिक जानकारी सार्वजनिक गर्ने बताउनुभयो ।

बुधबारदेखि घटनास्थलमा अध्ययन थालेको विभागका मौसमविद् डा. अर्चना श्रेष्ठको नेतृत्वको टोली सम्भवतः सोमबार फर्किेनेछ । अध्ययन विवरण केलाएर एक साताभित्र प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने विभागको तयारी छ ।

विभाग र द स्मल अर्थ नेपालको वैज्ञानिक टोली सेन्टीनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्वीरको अध्ययनबाट बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको निष्कर्षमा पुगेको थियो । यही क्रममा भूउपग्रहबाट प्राप्त तस्बिरका साथै र सञ्चार माध्यम र सामाजिक सञ्जालका तस्बिर एवं भिडियोको पनि अध्ययन गरिएको द स्मल अर्थ नेपालका अनुसन्धान संयोजक पियूष दाहालले जानकारी दिनुभयो । 

भूउपग्रहको तस्बीरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको अनुमान गरिएको छ । टोलीले प्रभावितस्थलमा ड्रोन तथा अन्य क्यामेराबाट क्षतिको भिडियो र तस्बीर लिने तथा पीडित मानिससँग कुरा गरेर सूचना लिएको संयोजक दाहालले बताउनुभयो ।

हावाहुरी प्रभावित क्षेत्र नजिक मौसमी स्टेशन र राडार पनि नभएका कारण विभागले उक्त मौसमी प्रणालीको विस्तृत तथ्याङ्क रेकर्ड गर्न नसकेको हो । तसर्थ विभागले अहिले भूउपग्रहबाट प्राप्त तस्बीर  र स्थलगत अध्ययनमा जोड दिएको महानिर्देशक वैद्यले जानकारी दिनुभयो । दुवै अध्ययनपछि उक्त मौसमी प्रणालीको विस्तृत जानकारी प्राप्त हुने विभागको विश्वास छ । 

त्यसपछि ‘टोर्नाडो’ को नेपाली नामाकरण गर्नेसमेत विभागले जनाएको छ । यही चैत १७ गते साँझ बारा र पर्सामा गएको भिषण हुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्‍याएको थियो । महानिर्देशक वैद्यले बारा र पर्सामा आएको भीषण हावाको वेग १५० देखि २०० किमी प्रतिघण्टा हुन सक्ने अनुमान गर्नुभयो ।

यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन । भविष्यमा यस्ता घटनाको पूर्वसूचना प्रवाह गरी उपयुक्त सतर्कता अपनाउन यस्ता विनाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानको खाँचो रहेको विभागले औँल्याएको छ ।  

म‌ंगलबारदेखि मौसम सफा हुने

देशभर प्रिमनसुन क्रियाशील हुँदा देशभरी कै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पूर्वी बिहारमा न्यूनचापीय क्षेत्र र बंगालको खाडीमा उच्चचापीय क्षेत्र बनेका कारण त्यसको प्रभावले नेपालमा प्रवेश गरेको जलवाष्पयुक्त हावाले मौसममा बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

सोमबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने र पूर्वी तराईका केही स्थानमा बतास चल्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । मङ्गलबारदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया