तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
पर्वत – मोदी गाउँपालिका २ देउपुरदेखि कास्कीको लेखनाथसम्मको ४२ किलोमिटर लामो नयाँ मोदी लेखनाथ प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ ।
पर्वत भएर बग्ने मोदीखोला, कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई पोखरा सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गर्नुभएको थियो ।
प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहने छन् । २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको नयाँ मोदी पोखरा प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।
प्रसारणलाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । ‘आयोजनाको जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम सक्न पाँच वर्ष लागे पनि अब डेढ वर्षभित्र सक्ने लक्ष्यसहित काम अघि बढाएका छौँ ।’ आयोजनाका मेनेजर विनोद कुमार यादवले भन्नुभयो ‘स्थानीयस्तरबाट सहयोग पाएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेछौँ ।’
प्रसारणलाइन अन्र्तगत पर्वतको मोदी गाउँपालिका २ देउपुर र कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा गरी दुईवटा सवस्टेशन निर्माण हुने भएका छन् । देउपुरमा ६५ रोपनी जग्गामा निर्माण सुरु भएको सवस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत जोडिने छन् भने कास्कीको लहाचोक सवस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित विद्युत जोडिने छन् । प्रसारण लाइन र सवस्टेशन निर्माणको काम भारतको कल्पयात्रु पावर ट्रान्समिसन लिमिटेडले गरेको छ ।
प्रसारण लाइनको शिलन्यास गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यको नीति नै आर्थिक समृद्धिको पक्षमा भएकोले सम्बृद्धि हासिल गर्न ठूलाठूला आयोजना निर्माण कार्य सुरु भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।