अलपत्र नयाँ शहर

 चैत २५, २०७५ सोमबार १२:५०:११ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना पछिल्लो समयमा अलपत्र पर्दै गएको छ । देश संघीयतामा गएपछि पाटन नयाँ शहर आयोजनालाई सुरुमा प्रदेश सरकार मातहत ल्याए पनि अहिले फेरि संघीयता सरकारको मातहत ल्याइएको छ । नयाँ शहर आयोजना अन्तर्गतका विभिन्न कामहरुमा सुस्तता आएको पाटन नयाँ शहर आयोजना कार्यान्वय कार्यालय बैतडीले जनाएको छ ।

अहिले आयोजनाका प्रमुख धनगढी बस्नुपरेको र स्थानीयस्तरमा रहेका विभिन्न समस्याहरुले पनि कामको गति अघि बढ्न नसकेको पाटन नयाँ शहर आयोजना कार्यान्वयन कार्यालयका सब इञ्जिनियर महेशप्रसाद जोशीले जानकारी दिनुभयो ।

पाटनमा २.३ किलोमिटरको चक्रपथ निर्माणको काम, नगर विकास भवन, बसपार्क निर्माणलगायतका कामहरु भैरहेको उहाँले बताउनुभयो । यस्तै पाटन नगरपालिकाको वडा नम्बर ८ खोड्पेमा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गर्ने भनिए पनि काम अघि बढाउन सकिएको छैन । ल्याण्डफिल साइड अर्थात् डम्पिङसाइड बनाउने ठाउँसम्मको सडक निर्माण कार्य पनि पूरा हुन सकेको छैन । कडा चट्टान भएका कारण सडक निर्माणमा ढिलाई भैरहेको निर्माण व्यवसायीले बताउने गरेको सवइञ्जिनियर जोशीले जानकारी दिनुभयो ।

पाटन नयाँ शहर आयोजानाको काम अघि बढाउनका लागि संघीय सरकारले पहल गर्नुपर्ने पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र विष्टले बताउनुभयो । पाटन नयाँ शहर आयोजना अन्तर्गत चालु आर्थिक वर्षमा ९ करोड बजेट आएको भए पनि बजेट खर्च हुन सकेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया