चीनको ‘ओबीओआर’ परियोजना पनामा पुग्यो, अमेरिका चिन्तित

 चैत २५, २०७५ सोमबार १३:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको बहुउद्देश्यीय परियोजना वान बेल्ट वान रोड (ओबीओआर) अब अमेरिकाको लागि पनि चिन्ताको विषय बन्दै गएको छ । पहिला चीनको यो परियोजना भारतसम्म मात्र सीमित थियो, अब यो अमेरिकासम्म पुगेको छ । 

यो परियोजनालाई बेल्ट एण्ड रोड (बीआरआई) पनि भनिन्छ । जसको उद्देश्य एसियाका देशलाई चीनद्वारा प्रायोजित परियोजनाको माध्यमबाट जोड्नु हो । जसलाई चिनियाँ २१ औं शताब्दीको ‘सिल्क रुट’ भनिन्छ । तर चीनको यो परियोजना अब अमेरिकासम्म पुगेको हो ।

चीन अब यो परियोजनाको लागि ल्याटिन अमेरिकी देशलाई ध्यान केन्द्रित गराइरहेको छ । चीन पनामा जस्ता देशमा ‘ओबीओआर’ परियोजनाको पक्षमा माहोल बनाउन प्रचारप्रसारको अनेक उपाय अपनाइरहेको छ । मध्य अमेरिकी देशमा चीनको ध्यान नयाँ चिन्ताको विषय बनेको छ । 

४० लाख जनसंख्या रहेको यो देशले नहरको माध्यमबाट एट्लान्टिक र प्रशान्त महासागरलाई जोड्ने गर्दछ । यही कारणले गर्दा नै यसलाई व्यापारको लागि महत्वपूर्ण क्षेत्र मानिन्छ । पनामा अन्तर्राष्ट्रिय व्यापारको मुख्य मार्ग हो, जसका कारण पनामा चीन र अमेरिकाका लागि रणनीतिकरुपले पनि निकै महत्वपूर्ण छ । 

तर यो क्षेत्रमा अमेरिकाको दबदबा रहेको मानिन्छ । अब चीनको कदमले अमेरिका चिन्तित बनेको हो । अमेरिकी सरकारले अधिकारीहरुलाई चीनको यो परियोजनालाई लिएर सतर्क रहन भनेको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यो मामिलामा अमेरिकाका विदेशमन्त्री माइक पाम्पियोले पत्रकारसामु पनामालाई चीनको निवेशबाट बच्न सतर्क गराएका छन् । गएको डिसेम्बर महिनामा विदेशमन्त्री पाम्पियोले जी–२० देशको बैठकमा दुनियाँको ठूलो अर्थव्यवस्थाको सामु चीनको यो परियोजनालाई लिएर चिन्ता व्यक्त गरेका थिए । 

जानकारीका अनुसार, चीन पनामामा आफ्नो प्रभाव बढाउनका लागि राजनेता, पेशेवर र पत्रकारलाई लोभ्याउने प्रयास गरिरहेको छ । स्पेनका लागि चिनियाँ राजदूतले पनि ओबीओआर परियोजनाको फाइदाका बारेमा टेलिभिजन र ट्वीटरमा बताउँदै आएका छन् । 

चीनको यो कोशिशको असर अब देखिन थालेको छ । पनामाका राष्ट्रपति जुआन कार्लाेस वारेलाले हालै हङकङमा चीनको परियोजनाको पक्षमा बयान दिएका थिए । चीनले भने एसिया र अमेरिकालाई पनामासँग जोड्न ठूलो मौकाको रुपमा लिएको छ । 

रिपोर्टका अनुसार, पनामाका राष्ट्रपति यही महिना पेइचिङमा हुने ‘ओबीओआर’ मञ्चमा हिस्सा लिँदैछन् । चीनको यो परियोजनालाई भारत र अमेरिकाले आपत्ति जनाइसकेका छन् ।   
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया