गोरखामा इटालीबाट ल्याइएकाे ‘जापानी फुजी’ स्याउको खेती सुरु, ६ देखि ७ महिनामै फल दिने

 चैत २५, २०७५ सोमबार २०:४५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा - गोरखाको धार्चे गाऊँपालिकाको सातवटै वडामा इटालीबाट बिरुवा ल्याएर स्याउ खेती सुरु गरिएको छ ।

गाउँपालिकाको ७ वडामा २ सयका दरले १४ सय स्याउका बिरुवा रोप्न थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानलाई स्याउको बिरुवा उपलब्ध गराएको हो । 

विभिन्न विकास आयोजनाको माध्यमबाट उपभोक्ताको जीविकोपार्जनमा सघाउने उद्देश्यले प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

‘विकास आयोजना कार्यक्रम अन्तर्गतको झण्डै २० लाख बजेटबाट स्याउका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क उपलब्ध गराइएको हो । पूर्वाधार विकाससँगै उपभोक्ताको जीविकोपार्जनमा पनि फाइदा पुग्नुपर्छ भनेर यो कार्यक्रम गरेका हौं’ मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले बताउनुभयो ।

इटालीमा कलमी गरिएको बिरुवा पानी जहाजमार्फत ३ महिना लगाएर नेपाल ल्याइएको हो । विश्वमै प्रख्यात ‘जापानिज फुजी’ जातको स्याउलाई कलमी गरी नेपाल ल्याएर गोरखाका किसानलाई वितरण गरिएको उहाँको भनाइ छ । 

एउटा वडामा २ सयका दरले बिरुवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । नेपालमा ल्याएर वितरण गर्दा एउटा स्याउको बिरुवाको मूल्य १४ सयसम्म पर्ने शहरी विकास तथा भवन कार्यालय गोरखाले जनाएको छ ।

रोपेको ६ देखि ७ महिनामै फसल लिन सकिने भएकाले यो जातको स्याउ बिक्रीबाट स्थानीय बासिन्दा लाभान्वित हुन सक्ने भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको विश्वास छ । ‘अहिले हामीले परीक्षण खेती गरेका हौं, यो सफल भएमा यसको खेती गराउँछौं’ किसानलाई स्याउका बिरुवा वितरण गर्दै उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा स्याउ खेती राम्रो हुन्छ, बजारको दु:ख हुँदैन ।’ 

खेती राम्रो भएमा धार्चे र चुमनुब्री गाउँपालिकाका अरु किसानलाई पनि स्याउका बिरुवा उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ छ । ‘जापानी फुजी’ जातको स्याउ संसारमा बिक्री हुनेमध्ये उत्कृष्ट जात भएकाले त्यही प्रजातिको बिरुवा छनौट गरी ल्याइएको स्याउबाली विज्ञ चुटराज गुरुङले बताउनुभयो । 

मनाङको भ्राताङमा पहिलो पटक खेती गरिएको यो जातको स्याउ खेती हाल नेपालका १४ हिमाली जिल्लामा हुँदै आएको छ । चैतमा रोपेको बिरुवामा एक महिनाभित्रै फूल फुल्ने र अर्को महिना फल लाग्न सुरु हुने गुरुङले जानकारी दिनुभयो । असोजसम्ममा स्याउ पाकिसक्ने उहाँको भनाइ छ । उचित हावापानी र सिंचाई पाएमा एउटा बोटमा २० किलोसम्म फल लाग्ने उहाँले बताउनुभयो । स्याहार पाएमा एउटा बोटले ५० वर्षसम्म पनि फल दिने गरेको पाइएको स्याउवाली विज्ञ गुरुङले जानकारी दिनुभयो ।

फुजी जातको स्याउको नेपालमै पहिलो पटक खेती गरेका एग्रो मनाङका सञ्चालक एवम् प्रतिनिधिसभामा मनाङका सांसद पाल्देन छोपेल गुरुङले धार्चेका किसानलाई स्याउ खेतीबारे जानकारी गराउनुभएको थियो ।  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया