विराटनगरबाट मुख्यमन्त्रीको घोषणा : नाम र राजधानी नयाँ वर्षसँगै टुङ्गिन्छ

 चैत २५, २०७५ सोमबार १८:३९:३७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी नयाँ वर्षको आगमनसँगै टुङ्गिने बताउनु भएकाे छ  ।

विराटनगरमा कृष्णप्रसाद सिग्देल पत्रकारिता  पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी नयाँ वर्षको आगमनसँगै प्रदेशले पाउने बताउनु भएकाे हाे ।  

उहाँले प्रदेशको राजधानी मात्र नभई प्रदेशको नाम पनि सँगै आउने भएकोले अब नाम र राजधानीको विषय टुङ्गिनेबित्तिकै धेरै बिषयहरु थप बलियो भएर जाने स्पष्ट पार्नुभयाे । प्रदेशको नाम र राजधानीको विषय अहिले देख्दा लम्बिएको देखिए पनि यो विषय टुङ्गिनेबित्तिकै निर्माणको कामले पनि गति लिने मुख्यमन्त्री राईको भनाइ छ ।

अहिले प्रदेश सरकार योजनाबद्ध विकासको थालनीको क्रममा अगाडि बढेको स्मरण गराउँदै उहाँले आवधिक योजना निर्माणको काम वैशाख १५ सम्ममा सकेर प्रदेशको परियोजना बैंकको तयारीमा रहेको बताउनुभयाे ।

उहाँले परियोजना बैंक संचालनका लागि संघीय सरकारको अनुमतिमा स्विस सकारसँग मिलेर परियोजनाको सम्भाव्यता अध्ययत थालनी गरिने बताउनुभयाे ।  

‘परियाेजना बैंकको अवधारणासँगै प्रदेश सरकार कानुन तथा नीति निर्माणमा अघि बढ्छ', मुख्यमन्त्री राईले भन्नुभयाे, 'त्यसलगत्तै प्रदेशमा लगानी सम्मेलनको आयोजनासँगै  प्रदेशलाई समृद्धिको बाटो खुल्छ ।’

उहाँले अहिले पनि प्रदेश सरकार अन्धाधुन्ध नहिँडेको स्मरण गराउँदै एउटा बाटो निर्माणका लागि आधार तय गरेर मात्र प्रदेश सरकार अगाडि बढ्ने क्रममा रहेको जानकारी दिनुभयाे ।

 

अन्तिम अपडेट: चैत ८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया