यस्तो पो सरकारी विद्यालय !

 चैत २६, २०७५ मंगलबार १२:५३:४१ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – छत्रेश्वरी गाउँपालिका लेखपोखरामा रहेको कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना विद्यालय बनेको छ । कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षादेखि संग्राहलय सम्मको व्यवस्थापन गरिएको छ । 

विद्यार्थीलाई प्रयोगात्मक तरिकाबाट सिकाउँदै आएको विद्यालयले हरेक कुरालाई शैक्षिक सामाग्रीको प्रयोगबाट सिकाउँदै आएको विद्यालयका प्रधानाध्यापक बालाराम ओलीले बताउनुभयो । विद्यालयलाई नमुना बनाउनका लागि हामीले गर्न सकिने सबै कुराहरु गरेका छौँ प्रधानाध्यापक वलीले भन्नुभयो अभिभावक र पूर्व विद्यार्थीहरुको निरन्तरको सहयोगले मात्र यो सम्भव भएको हो ।

प्राथमिक तहमै कम्प्युटर शिक्षा

८८ जना विद्यार्थी रहेको विद्यालयमा सवै कक्षाका विद्यार्थिहरुले हप्तामा १ दिन कम्प्युटरबारे सिक्न र चलाउन पाउछन् । यसले उनीहरुको ज्ञान र सीपको विकासमा अझ मद्धत पुगेको विद्यालयका प्रधानाध्यापक वलीले बताउनुभयो । 

विद्यालयमा कम्प्युटरको व्यवस्थापनका लागि युवा क्लब, अभिभावक । सामुदायिक वन समूह र पूर्व विद्यार्थी र गाउँपालिकाले सहयोग गरेका थिए । हामीलाई प्रत्येक वर्ष उहाँहरुले सहयोग गर्नुहुन्छ प्रधानाध्यापक वलीले भन्नुभयो यो वर्ष मात्रै २ लाख बराबरको सहयोग गर्नुभएको छ । १ सय २४ अभिभावक रहेको गाउँमा छोराछोरी यो विद्यालयमा नपढ्ने अभिभावकहरुले समेत सहयोग गर्ने गरेका छन् ।

विद्यालयमा शैक्षिक सामाग्रीदेखि आवश्यक हुने सबै प्रकारका सामानहरु अभिभावकहरुले सहयोग गर्ने गरेका छन् उहाँले भन्नुभयो ‘बाहिर रहेकाहरु नगद सहयोग गर्ने गरेका छन् ।’

करेसाबारी मै हुन्छ प्रयोगात्मक शिक्षण

विद्यालयले अभिभावकको सहयोगमा विद्यालयमा करेसाबारी बनाएको छ । करेसावारीमा विभिन्न थरीका मौसमी तथा बेमौसमी तरकारीहरु रोपेर त्यसबारेमा विद्यार्थीहरुलाई सिकाउने गरिएको छ ।

‘हामीले कुनै पनि विषयलाई प्रयोगात्मक तरिकाबाट सिकाउछौँ’ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मानबहादुर वलीले भन्नुभयो ‘किताबी ज्ञानका साथै जिवनउपयोगी सीपको विकासमा समेत ध्यान दिएका छौँ । 


करेसाबारीमा उत्पादित तरकारीले विद्यार्थिहरुलाई दिवा खाजा व्यवस्थापनमासमेत सहज भएको छ । करेसाबारीमा अदुवा, काउली, टमाटर, वन्दा, साग, प्याज आदि उत्पादन हुने गरेको उहाँले बताउनुभयो । 

प्रयोगात्मक पढाइले सिकाइ उपलब्धि बढ्यो

विद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन गरिएको छ । बालबिकासदेखि ३ सम्मका विद्यार्थीहरुलाई कार्पेट राखेर बालमैत्री बसाइ व्यवस्थापन गरिएको छ भने कक्षा ४ र ५ का लागि यू र भी आकारमा अन्तर्क्रियात्मक तरिकाले पढाउन मिल्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयले पढाइ सुधारको लागि विभिन्न पहल गरेपछि विद्यालयको सिकाइ उपलब्धी सुधार हुँदै गैरहेको प्रधानाध्यापक वलीले बताउनुभयो । पहिले हाम्रो विद्यालय औषत विद्यालयको रुपमा थियो उहाँले भन्नुभयो ‘अहिले हाम्रो सिकाइ उपलब्धी ६६ प्रतिशत भन्दा बढी छ जवकी जिल्लाकै सिकाइ उपलब्धि अहिले ५५ प्रतिशतको हाराहारीमा छ ।

विद्यालयले अभिभावकहरुसँग सम्बन्ध विकासको लागि तीन महिनामा अभिभावक भेलाको साथै छुट्टै आमा अभिभावक भेला गरिरहेको विद्यालयले जनाएको छ । 

३ जना दरबन्दी रहेको विद्यालयमा १ जना बालविकास शिक्षक र १ जना गाउँपलिकामार्फत करार शिक्षक गरी ५ जना छन् । विद्यालयलाई हरित, शान्त र सुरक्षित रुपमा विकास गर्नका लागि आफूले सकारात्मक अनुशासनलाई जोड दिएको प्रधानाध्यापक वलीले बताउनुभयो । 

पुराना लोपोन्मुख सामाग्री चिनाउन विद्यालयमै संग्रालय

विद्यालयले पुराना लोप हुन लागेका ग्रामिण क्षेत्रमा पाइने सामाग्रीहरुलाई विद्यालयमा संग्रालय बनाएर राखेको छ । विद्यार्थीहरुलाई हराइसकेका र हराउन लागेका सामाग्रीहरुको ज्ञान होस भनेर राखेका हौँ प्रअ वलीले भन्नुभयो, ‘स्थानीय पाठ्यक्रम अनुसारको कोर्ष अघि बढाउन सजिलो भएको छ ।’

उहाँले संग्रालयमा १ सय बढी लोपोन्मुख सामाग्रीहरु रहेको बताउनुभयो । उहाँले  बढ्दो शहरीकरणसँगै पुराना सामाग्री लोप हुदै जान थालेपछि यस्तो रणनीति बनाएर विद्यार्थीलाई सिकाउन थालेको बताउनुभयो । विद्यालयको चर्चा हुन थालेपछि विद्यालयमा सरोकारवाला निकाय, शिक्षक तथा विद्यार्थीहरु समेत पुग्ने गरेका छन् ।

विद्यालयको व्यवस्थापन र शैक्षिक पक्ष जिल्लाकै नमुना रहेको शारदा नगरपालिकाकी उपमेयर सावित्रा बस्नेतले बताउनुभयो । संग्रालयमा रहेका पुराना सामाग्री नियाल्दै उहाँले भन्नुभयो शिक्षालाई बस्तु र जीवनसँग जोडेर पढाउन सकियो भने जीवन्त हुन्छ र जीवनभरी काम लाग्छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया