आजदेखि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

 चैत २७, २०७५ बुधबार ८:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदैछ । बुधबार बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ तानेर जात्रा सुरु हुने गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बिस्केट जात्रा भक्तपुरका बासिन्दाले नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । बिस्केट जात्राको पहिलो दिन बुधबार बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरी अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्‍याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथ यात्रा विसर्जन गरिन्छ ।  

भैरवनाथको रथमा तलेजुका पुजारी र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पुजा सकेर रथ तान्न सुरु गरिन्छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बीःसीत अर्थात् नाग नागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको तलेजुका नाइके जोशीले बताउनुभयो ।

चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीयको भनाइ छ ।

 किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग बिहे गर्थे ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाइ मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए ।

एकदिन एक बलवान् राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनेको भनाइ छ । भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुइटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतीलक गरिदिए ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरेको भनाइ छ । यो लिङ्गो भक्तपुरको चित्तपोल स्थित सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाको बली चढाइ रूख काटी ल्याउने प्रचलन छ । लिङ्गोमा राख्ने ध्वजा एकजोडी र लिङ्गो ठड्याउने आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमात्रिका गण अंकित हुन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा रथ तान्दा झगडा हुने र ढुङ्गा हानाहान रोक्नलाई भक्तपुर नगरपालिकाले विभिन्न समितिहरु गठन गरेको छ । यसवर्ष भक्तपुर जिल्ला प्रशासन र प्रहरीले सुरक्षा व्यबस्था कडा पारिएको छ । 
 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया