सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई प्रधानमन्त्रीकाे सुझाव : सेन्टिमिटरसहित उचाइ नाप्नुस्, माैसम र स्वास्थ्यमा पनि ध्यान दिनुस्

 चैत २७, २०७५ बुधबार १२:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने  कर्मचारीको टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चारजना कर्मचारीको टोली बुधबार  त्यसतर्फ जाँदै छन् । 

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलीले झण्डै एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न जान लागेको टोलीको प्रतिवदेन आधिकारिक हुने बताउनुभएको छ ।

'नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टिमिटरसहितको उचाइ नापेर ल्याउनु होला' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।'

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिँदै मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न सुझाउनु भएको छ । 'लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ, अर्को पटक गएर नापेर आए पनि हुन्छ । गाइडको निर्देशन पालना गर्नुहोला' प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । बिदाइ कार्यक्रममा मन्त्री पद्मा अर्याल पनि सहभागि हुनुहुुन्थ्यो । कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया