नौ बाजाका वाद्य गुरु हरिगोविन्द सम्मानित

 चैत २७, २०७५ बुधबार १७:४१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कला संस्कृति र बाजाहरुको संरक्षण गर्दै युवा पिँढीलाई बाद्यबादनतर्फ आकर्षित गर्न काठमाण्डौ विश्वविद्यालयमा नौ बाजाको प्रशिक्षकका रुपमा कर्म गर्दै आउनुभएका ८४ वर्षीय वाद्य गुरु हरिगोविन्द रञ्जितकारलाई शिक्षक दिवसको अवसरमा भक्तपुरमा सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले ४०औँ शिक्षक दिवसको अवसरमा बुधबार आयोजना गरेको सम्मान तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा वाद्यवादक तथा गुरु रञ्जितकारलाई सम्मान गरिएको हो । त्यस अवसरमा अर्का युवा वाद्यवादक मनिष सिल्पकारलाई पनि सम्मान गरिएको छ ।

संगठनले २०७५ सालमा सेवानिवृत्त हुनुभएका २६ जना सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुलाई समेत सम्मान गरेको संगठनका सचिव गोविन्द ढुंगानाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले सरकारले यो वा त्यो बहानामा अस्थायी रुपमा कार्यरत शिक्षकलाई जिम्मेवारीबाट हटाउन परीक्षा सञ्चालन गरेर नाटक गरेको बताउँदै आन्दोलनरत अस्थायी शिक्षकको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्नुभयो । 

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय सरकारका प्रमुखहरुमा दम्भ बढ्दै गएको उल्लेख गर्दै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएकाले त्यो जिम्मेवारी कुशलताका साथ पूरा गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो । 

संगठनका पूर्व अध्यक्ष माधवप्रसाद अधिकारीले सरकारले अस्थायी शिक्षकको आन्तरिक परीक्षामा असफल हुने शिक्षकलाई उपदानको व्यवस्था गरेर बिदाइ गर्नु सकारात्मक भए पनि उनीहरुले लामो अवधि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको भने सरकारले सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले स्थानीय सरकारले निर्माण गरिरहेको ऐनले शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन नसक्ने उल्लेख गर्नुभयो ।

संगठनका भक्तपुर अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठनका उपाध्यक्ष बिष्णु प्रसाद पोखरेल, नेपाल राष्ट्रिय अभिभावक संघका पूर्व केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारी, जिससका उपप्रमुख सरिता कुँवर, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), शिक्षक महासंघ भक्तपुरका अध्यक्ष गंगाधर हाडा, संगठन भक्तपुरका पूर्व अध्यक्ष भवानी खड्का, गणेश मावि व्यवस्थापन समितिका अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलगायतले शिक्षाको विकासमा सरोकारवालाको जिम्मेवारी र भूमिकाका बारेमा चर्चा गर्नुभयो ।
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया