कुनै पनि शक्तिको दादागिरी सहनु पर्दैन, सरकार तपाइँका पक्षमा छ: मन्त्री पोखरेल

 चैत २७, २०७५ बुधबार २०:३६:४३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – कुनै पनि शक्तिको दादागिरी नसहन नागरिकलाई आग्रह गर्दै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नागरिकका पक्षमा सरकार रहेको बताउनु भएकाे छ ।

शहीद रत्नकुमार वान्तवाको ४० औं स्मृति दिवसका अवसरमा माङ्सेबुङ गाउँपालिकाको इभाङमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले हाल नेत्र बिक्रम चन्द (बिप्लव) समूहले गरेको गतिविधिका बारेमा सबैलाई सचेत हुन जरुरी रहेको बताउनु भएको हाे ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएका कारण धेरै नेता तथा कार्यकर्ता पक्राउ परिसकेको बताउँदै उहाँले केही नकारात्मक गतिविधिबारे थाहा पाए प्रहरीलाई खबर गर्न समेत नागरिकलाई सुझाउनु भएको छ । 

यस्तै सरकारले देशलाई समृद्ध पार्न खोजिरहेको समयमा यस्ता शक्तिले अवरोध गर्ने प्रयास निरन्तर गरिरहेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले इलामको माङ्सेबुङ पर्यटकीय स्थल भएकाले यसको मुहार फेर्न सरकार लागि पर्ने बताउँदै अब विकास हुने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ  । 

त्यस्तै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले भने आफूले चुनाव लड्ने क्षेत्रमा आफू निर्वाचित भएर आएपछि सबै क्षेत्रमा बिजुली बत्तीको पहुँच पुगिसकेको जानकारी दिनुभयो । उहाँले सडकसमेत विस्तार भइसकेको बताउँदै विकास हुन्छ भन्ने पक्षमा नागरिकलाई विश्वस्त बन्न आग्रह गर्नुभयो । 

विस्तार भएका सडकहरु हिँउद-बर्खा नै चल्नसक्ने बनाउन आफूले पहल गरिरहेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि लगायतकाे उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया