सत्य निरुपण तथा मेलमिलाप आयोग पदाधिकारीविहीन

 चैत २९, २०७५ शुक्रबार १४:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्य निरुपण तथा मेलमिलाप आयोग पदाधिकारीविहीन बनेको छ । आयोगका वर्तमान पदाधिकारीको म्याद सरकारले नथप्दा आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।  

४ वर्ष अघि २०७१ माघ १ गते सूर्यकिरण गुरुङको अध्यक्षतामा पाँचजना सदस्य रहने गरी आयोगमा पदाधिकारी नियुक्त गरेको थियो । द्वन्द्वका बेला भएका घटनाको सत्यतथ्य पत्ता लगाएर आवश्यक सिफारिस गर्ने काम दुईवर्ष भित्र सक्ने गरी स्थापना भएको आयोगको पटक–पटक म्याद थप गर्दा पनि तोकिएको काम हुन सकेको छैन । 

४ वर्षसम्म पनि काम नसकिएपछि सरकारले समितिका पदाधिकारीको म्याद चैतपछि नाप्ने निर्णय गरेको हो । तर आयोगको म्याद भने एक वर्ष थप भएको छ । 

संसदको दुवै सदनबाट पारित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयकले आयोगको म्याद एक वर्ष थप्ने व्यवस्था गरेको छ ।

आयोगबाट सम्पादन हुनुपर्ने काम बाँकी रहेको भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गरेर दुबै आयोगको म्याद थप गरेको हो । तर आयोगमा रहेका अहिलेका पदाधिकारीको म्याद भने चैतदेखि सकिने यस अघि नै निर्णय भइसकेको थियो । आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्न सरकारले समिति समेत बनाइसकेको छ । 

आयोगका अध्यक्ष र सदस्यको पदावधि भने २०७५ चैत मसान्तसम्म मात्रै कायम रहने भएको छ । यसअघि बहालवाला अध्यक्ष र सदस्यको म्याद आयोग विघटन नभएसम्म रहने व्यवस्था थियो । अब नियुक्त हुने पदाधिकारीको म्याद निर्धारित पदावधि सकिएपछि स्वतः समाप्त हुने व्यवस्था गरिएको छ ।

यसैबीच आयोगकी वर्तमान सदस्य डा.माधवी भट्ट पराजुलीले आयोगमा रहँदा आफूहरुले पीडितहरुको उजुरी लिएर धेरैको अनुसन्धान सकेको भए पनि देखिने गरि काम हुन नसकेको स्वीकार्नुभयो । आयोगमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले आयोगमा दर्ता भएका ६२ हजार ९५० द्वन्द्वकालीन मुद्दा टुँगो लाग्न नसकेको र ती मुद्धाहरुको सुरक्षा के हुन्छ भन्ने संशय उत्पन्न भएको बताउनुभयो ।

‘आयोगमा बुझाइएको उजुरीहरु सुरक्षित हुन्छन् कि हुँदैनन् । ति उजुरी गोप्य रहन्छन कि रहँदैनन् भन्नेमा आशंका उत्पन्न भएको छ,’ उहाँले भन्नुभयो ।

आयोगमा उजुरी परेका मुद्धाहरुमा पीडितहरुको परिपूरणका विषयमा के गर्ने भन्ने निर्णय गर्ने काम भने हुन नसकेको उहाँले खुलाउनुभयो । अहिले पदाधिकारी नियुक्त भइनसकेका र पहिलेका पदाधिकारीको म्याद पनि सकिसकेकाले पदाधिकारी नियुक्त नहुन्जेलसम्मको खाली समयमा आयोगमा परेका उजुरीहरुको सुरक्षाको विषय गम्भिर बनेको उहाँले खुलाउनुभयो । सरकारले पदाधिकारी यथासक्य छिटो नियुक्त गर्दै पीडितहरुको उजुरी सुरक्षित रहने व्यवस्था मिलाउनु पर्ने सुझाव पनि उहाँले दिनुभयो । 


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया