मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थाको आजदेखि स्थलगत अनुगमन

 बैशाख १०, २०७६ मंगलबार १०:३४:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको लागि सूचीकरण हुन निवेदन दिएका स्वास्थ्य संस्थाहरुको आज मंगलबारदेखि स्थलगत अनुगमन सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि ती संस्थाको अनुगमन तथा निरीक्षण हुने जनाएको छ । सूचीकरण हुनको लागि निवेदन दिएका स्वास्थ्य संस्थाहरुको मलेसियाबाट प्राप्त मापदण्ड पुगे/नपुगेकोबारे स्थलगत निरीक्षण हुनेछ । 

काठमाण्डौ उपत्यका र उपत्यका बाहिर निरीक्षणको लागि प्राविधिक समूह खटिइसकेको पनि मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् ।

सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे, नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने मन्त्रालयले जनाएको छ ।

 यसअघि मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका अरु स्वास्थ्य संस्थाको पनि अनुगमन थालेको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया