चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण

 बैशाख १२, २०७६ बिहिबार १०:१९:१८ | रासस
unn.prixa.net

काठमाण्डाै – भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।

निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाण्डाैको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो ।

पाँचवटै सडक आयोजना पुनर्निर्माणका लागि एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले जानकारी दिनुभयो । 

भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनर्निर्माणका लागि एडीबीले सहयोग  गरेको छ । बाह्र सडक आयोजनाको ३०१ किमीको काम चालू आवमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनर्निर्माण गर्ने उहाँले सुनाउनुभयो ।

गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पुर्‍याएको थियो । ३८ वटा सडक आयोजनाको ७०७ किमी पुनर्निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षति भएका ४२ सडकको ३१६ किमीको काम सुरुहुन बाँकी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनर्निर्माण सक्ने प्राधिकरणको लक्ष्य छ । 

आर्थिक वर्ष २०७६/२०७७ सम्म ८० प्रतिशत र आव २०७७/२०७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । भूकम्प प्रभावित २१ जिल्लाका सडक आयोजनाको पुनर्निर्माण भइरहेको छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकका सडक आयोजना पुनर्निर्माण अझै सुरु हुन नसकेको उपनिर्देशक श्रेष्ठले स्वीकार गर्नुभयो ।

केही विदेशी संस्थाले सिन्धुपाल्चोकका सडक आयोजना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएकाले काम सुरुहुन नसकेको हो । भूकम्प गएको चार वर्ष पुग्दा पनि ती संस्थाले काम सुरुनगरेकाले एकाईले नै गर्ने गरी प्रस्ताव अघि बढाइएको छ । 

भूकम्प प्रभावित क्षेत्रका सडकका पुल हालसम्म पुनर्निर्माण हुन सकेको छैन । करीब एक दर्जन पुल पुनर्निर्माण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको एकाईले जनाएको छ । केही पुल पुनर्निर्माणको प्रस्ताव स्वीकृत भई आउने जानकारी आएको एकाई प्रमुख गणेशराज वस्तीले सुनाउनुभयो ।

क्षतिग्रस्त २६२ सरकारी भवन पुनर्निर्माण

भूकम्पले भत्किएका २६२ सरकारी भवन पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनुपर्ने तथ्याङ्क छ । १४५ भवन पुनर्निर्माण भइरहेको छ । आठ वटा सरकारी भवन पुनर्निर्माण गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

हालसम्म ६३ प्रतिशत सरकारी भवन पुनर्निर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले राससलाई जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७६/२०७७ मा ९० प्रतिशत पुनर्निर्माण सक्ने लक्ष्य छ । आव २०७७/२०७८ मा ४१५ वटै सरकारी भवनको पुनर्निर्माण सकिने उहाँले बताउनुभयो । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो । 

सुस्त खानेपानी आयोजना पुनर्निर्माण

भूकम्पको चार वर्ष बित्दा पनि मानवीय जीवनका लागि अत्यावश्यक खानेपानीका संरचना पुनर्निर्माणले भने गति लिन सकेको छैन । 

भूकम्पले क्षति पुगेका तीन हजार २१२ खानेपानी आयोजनामध्ये हालसम्म ७९१ को मात्र पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यो कूल क्षति भएकामध्ये २५ प्रतिशत मात्र हो । हाल ६७० आयोजना पुनर्निर्माण भइरहेका छन् । अझै एक हजार ७५१ आयोजना पुनर्निर्माण हुन सकेको छैन । वैशाख ८ गतेसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्क अनुसार ५५ प्रतिशत खानेपानी आयोजना बनाउने सुरसार छैन ।

आधा बढी विद्यालय भवन पुनर्निर्माण

भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये चार हजार २५३ को पुनर्निर्माण सम्पन्न भएको छ । हाल दुई हजार १३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १६९ विद्यालय भवन अझै पुनर्निर्माण सुरुहुन नसकेको प्राधिकरणले जनाएको छ । 

यसैगरी भूकम्पले ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४५६ कक्षा कोठा पुनर्निर्माण सम्पन्न भएको छ । १८ हजार ५५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६७५ कक्षा कोठा अझै बन्न सकेको छैन । 

भूकम्पले क्षति पुगी पुनर्निर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनर्निर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो । सात क्याम्पस भवन अझै पुनर्निर्माण सुरुहुन सकेको छैन । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया