एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव छैन: डा. भट्टराई

 बैशाख १३, २०७६ शुक्रबार १६:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने स्पष्ट पार्नु भएको छ । 

संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर देशको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्नुभयो । शुक्रबारबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्रयाउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गर्नुभयो ।

त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति-कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाइ छ ।

संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभइ उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहेका छन् ।

मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा राखिएका छन् । ‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका आयोजना गरिएको मेलामा २ लाख बढिले अवलोकन गर्ने तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया