दुबईमा ‘मिनी नेपाल’ : खाडीका देशमा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्य

 बैशाख १८, २०७६ बुधबार ११:३२:४९ | उमाकान्त पाण्डे

यूएई – झरनासँगै बगेको खोला । त्यही खोलामा र्‍याफ्टिङ । सेताम्य हिँउ र विभिन्न ताल तलाउ । प्याराग्लाइडिङ र विभिन्न जातजातीका झाँकी । एउटा गोलाकार मन्दिर आकृतिमा बनेको घर ।

चुचुरोमा फहराएको नेपाली झण्डा । वरपर नेपाल र नेपालीकै बारेमा कुरा गरिरहेका विभिन्न विदेशी नागरिकको भिड । भित्तामा ठूला अक्षरले लेखिएको नेपाल, त्यसको बीच भागमा छन् यी सबै दृश्य ।  यो दृश्य दुबईको वल्र्ड ट्रेड सेन्टरमा रहेको एएफ २०६९ नम्बरको स्टलमा देख्न सकिन्छ । 

नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने लक्ष्यका साथ यूएईमा पर्यटन प्रचार अभियान अन्तर्गत नेपालको झल्को दिन ‘मिनी नेपाल’ स्वरुप यो स्टल राखिएको हो ।

आइतबारदेखि सुरु भएको अरबियन पर्यटन बजार (एटीएम) मा  पर्यटन प्रदर्शनीमा नेपालले आफ्नो सहभागिता जनाएर पर्यटन प्रबर्द्धन तथा प्रचारलाई अघि बढाउन यो व्यवस्था गरेको हो । 

मध्यपूर्व क्षेत्रकै सबैभन्दा ठूलो पर्यटन प्रदर्शनी मेला अरबियन मार्ट (एटीएम) मा यस पटक १ सय ५० देशका विभिन्न स्टल राखिएको छ । हरेक वर्षको वैशाख महिनाको तेस्रो हप्तादेखि ४ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको यो २६ औं संस्करण हो । यो पटक १ सय वटा नयाँ स्टल समेत थपिएको छ ।  

पर्यटन प्रदर्शनीमा नेपालले खाडीका देशमा नेपालको पर्यटन प्रबर्द्धन तथा व्यवसायीकरणलाई महत्वका साथ प्रचार गर्न नेपाल पर्यटन बोर्ड लागि परेको हो । त्यसका लागि बोर्डले नेपाल एयरलाइन्स तथा विभिन्न ४ वटा निजी कम्पनीहरुसँग समन्वय गरेको छ ।    

नेपालको सहभागीताले खाडी देशका पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । विदेशीहरुलाई नेपाली संस्कृति, पर्यटकीय स्थल र प्राकृतिक सम्पदाका बारेमा जानकारी दिन थप सहयोग भएको छ । विभिन्न देशका पर्यटक दुबईमा भेटिने भएकाले उनीहरुरुलाई नेपालप्रति आकर्षित गर्नु मुख्य उद्देश्य रहेको पर्यटन बोर्डले जनाएको छ । 

नेपालका मुख्य पर्यटकीय स्थानमा अरबियन समुदायलाई आवश्यक पर्ने हलाल गरिएका मासुजन्य खाना, स्तरीय बसाई लगायतको व्यवस्था पनि गरिएको बोर्डका प्रबन्धक सुमन घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।  मेलामा पर्यटकीय स्थल, कला संस्कृति झल्किने मात्रै होइन नेपालको चिया, अलंैची लगायत नेपाली सामाग्री समेत राखिएको छ ।   

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अनुसार देश विदेशमा विभिन्न कार्यक्रम गरिरहेको छ । विदेशस्थित नेपाली नियोग तथा दूतावाससँगको समन्वयमा पर्यटन बोर्डले कार्यक्रम गर्दै आएको छ ।

पर्यटन प्रर्दशनी मेलाको अन्तिम दिन बिहीबार दुबईमा नेपाली साँझको समेत आयोजना गरिएको छ । कार्यक्रममा पर्यटन ब्यवसाय गरिरहेका ठूला विदेशी कम्पनीका प्रतिनिधि तथा यूएईमा रहेर पर्यटन व्यवसाय गर्दै आएका नेपाली व्यवसायी लगायतको सहभागीता रहने दूतावासले जनाएको छ । नेपाली साँझ नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स तथा नेपाली दूतावास आबुधाबीको संयुक्त आयोजनामा हुन लागेको हो ।  

मध्यपूर्वबाट हवाईमार्ग मार्फत नेपालमा हरेक वर्ष ६ हजार पर्यटक पुग्ने गरेको पर्यटन वोर्डको तथ्याङ्क छ । त्यसैले पनि यस क्षेत्रमा बोर्डले थप सक्रियता देखाएको हो।

यी देशमा इतिहाद एयरवेज, एयर अरेबिया, ओमान एयर र फ्लाई दुबईसहित नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् । 

यस पटकको अरबियन मार्ट (एटिएम) मेलामा पर्यटन बोर्डका प्रबन्धक घिमिरेसहित नेपाल पर्यटन बोर्ड अन्तर्गत गण्डकी प्रदेशका प्रमुख मडिराज लामिछाने पनि सहभागी हुनुहुन्छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया