भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - हक अधिकारको नारा लगाउँदै भृकुटी मण्डपमा मजदुर नेताहरुको चर्को भाषण चलिरहेको छ । भाषण सुन्न विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुरहरुको पनि उल्लेख्य सहभागिता छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्दै नेताहरुले फलाकिरहेका छन् ।
कार्यक्रममा मजदुर नेता मात्रै होइन देशकै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजेन्द्र महतोलगायत विभिन्न राजनीतिक दलका नेता तथा संघसंगठनका अगुवाहरुले मजदुरको अधिकार स्थापित गर्ने भन्दै भाषण ठोक्न भ्याए ।
मे १ अर्थात मजदुर दिवसको अवसरमा बजारका विभिन्न स्थानबाट र्यालीसहित निस्किएको मजदुरहरुको हुल भृकुटी मण्डप पुगेर सभामा परिणत भएको थियो ।
भृकुटीमण्डपमा तामझामकासाथ मजदुर दिवस मनाइरहँदा काठमाण्डाैकै थापाथलीस्थित बागमती किनारछेउमा निर्माण भइरहेको एउटा सार्वजनिक भवनमा सप्तरीका जयनारायण ठाकुर काम गरिरहेका थिए ।
उनलाई न त मजदुर दिवसका बारेमा थाहा छ । न त नेताहरुले फलाक्ने गरेको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने कुरा नै थाहा छ । थाहा छ त केवल दिनरात नभनी काम गरेर केही पैसा जोहो गर्ने कुरा थाहा छ ।
२३ वर्षका जयनारायणले एसएलसी उत्तीर्ण भएपछि थप अध्ययन गर्ने मौका पाएनन् । परिवारमा आर्थिक संकट भएपछि मजदुरी गर्नुको विकल्प उनीसँग अर्को रहेन । काठमाण्डाै काम गर्न आएका जयनारायणले कुनै सीप पनि सिकेका थिएनन् । त्यसैले सहयोगीको रुपमा काम गर्न थाले ।
उनी निर्माणको काममा लागेको पनि झण्डै ५ वर्ष हुन थालिसके छ । तर अहिलेसम्म पनि उनले गिटी–बालुवा ओसारपसार गर्ने इँटा तथा रडहरु बोक्ने काम नै गरिरहनुभएको छ । सुरु सुरुमा अलि बढी गिटी बालुवा ओसार पसारको काम गर्न परेको भए पनि अहिले भने अनुभवले मिस्त्रीको काम गर्न थालेपछि केही सहज भएको छ ।
सानै उमेरमा बिहे गरेका जयनारायणलाई श्रीमती, एक छोरा, दुई छोरी र रोगी आमालाई पाल्नुपर्ने दायित्व छ । ‘मासिक १७/१८ हजार मात्रै हातमा पर्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यही आएको पैसाले आफू र सप्तरीमा रहेको परिवारलाई खर्च पुर्याउनु पर्छ ।’
महंगी बढ्दा यति पैसाले परिवार चलाउन साह्रै मुश्किल पर्ने गरेको उहाँ बताउनुहुन्छ । काम छाडेर नयाँ काम के गर्नु ? उहाँ प्रश्न गर्नुहुन्छ । जानेकै यही हो, १८ वर्षकै उमेरदेखि यही काम गर्न थाले अरु कामको अनुभव पनि छैन । जयनारायणलाई यो काम छाडेर कहिले कहीँ आफ्नै केही गरौँ भन्ने पनि नलागेको होइन तर आफूसँग आवश्यक लगानी गर्ने पूँजी नहुँदा दैनिक मजदुरीमै गुजारा चलाइरहनुपरेको छ ।
पहिले नै आवश्यक सीप सिकेर काम गर्न थालेको भए सहज हुने रहेछ भन्ने महसुस उहाँ गर्नुहुन्छ । ‘काम पनि धेरै बल प्रयोग हुने खालको गर्नुपर्छ, आफू कुनै काममा दक्ष हुन सकिएन त्यसैले थोरै पारिश्रमिकमा समेत घोटिएर काम गर्नुपर्ने अवस्था छ’ उहाँले गुनासो गर्नुभयो ।
शरीरमा बल हुन्जेल त काम गरेर आफ्नो र घर परिवारको जीवन निर्वाह गरुँला तर शरिरले काम गर्न छाडेपछि भने कसरी गुजारा चलाउने भन्ने चिन्ताले जयनारायणलाई सँधै सताउने गरेको छ ।
खोटाङ घर भएका रविन तामाङ पनि दैनिक मजदुरीमा काम गर्नुहुन्छ । टेकुमा रहेको एक गाडी मर्मत गर्ने ग्यारेजमा काम गर्ने रविन तामाङ बुधबार दिउँसो पनि बनाउनका लागि ग्यारेजमा आएको एउटा बसको टायर खोलिरहनु भएको थियो ।
सानै उमेरदेखि ग्यारेजमै बसेर काम गरिरहनुभएका रविनलाई अहिले बस, ट्रक जस्ता धेरैजसो गाडीका हरेक पाटपूर्जाका बारेमा जानकारी छ । कहाँ कसरी जोड्ने कसरी फुकाल्ने भन्ने अनुभव उहाँले बच्चैदेखि यही काम सिकेर जान्नु भएको हो । १२ वर्षदेखि ग्यारेजमा काम गर्न थालेका रविन अहिले २० वर्ष पुग्नुभएको छ ।
तर उहाँलाई मजदुर दिवसले छोएन । घरपरिवार र आफ्नो पेट पाल्न आजको दिन पनि उहाँ दिनभर बिग्रेर आएका गाडी बनाउनमै लाग्नु भयो । साहुको ग्यारेजमा काम गर्ने रविन त्यहाँ रहेका अरु कामदारमध्ये सिनियर हुनुहुँदो रहेछ । लामो समय गाडी बनाइरहेको अनुभवले उहाँको तलब पनि अरु कामदारभन्दा बढी नै रहेछ ।
कमाइ राम्रो हुँदै गएपछि खोटाङमा रहेको परिवारलाइ अहिले काठमाण्डौमा नै ल्याएको उहाँले बताउनुभयो । बुवा आमाको करले उहाँले १८ वर्षकै उमेर विवाह गर्नुभएका रविनको अहिले एउटा छोरी पनि छ । श्रीमती, छोरी र वुवा आमालाई अहिले काठमाण्डौमा नै ल्याएर राखेको उहाँ बताउनुहुन्छ । ‘पहिल्यै गाडी मर्मत गर्ने सीप भएको भए यति गाह्रो नै हुने थिएन नि’, उहाँ सुनाउनुहुन्छ, ‘झण्डै ५/६ वर्षसम्म त कमाउनै सकिएन नि ।’
बल हुन्जेल त गाडीका पाङ्ग्रा खोल्ने, गह्रुंगा पाटपूर्जा उचाल्ने गरौँला तर बल काम गर्दै जाँदा बीचमै अस्वस्थ भएर वा अन्य केही समस्या आए के कसरी जीवन चलाउने भन्ने चिन्ताले रविनलाई पनि सताइरहन्छ ।
सप्तरीका जयनारायण ठाकुर र खोटाङका रविन तामाङजस्ता काम गर्ने हजाराैँको हुल काठमाण्डौ उपत्यकाभित्र छ । जस्तो सुकै पाए पनि काम गर्ने चाहना राखेर उपत्यका भित्रिएकाहरु र सीप सिकेर काम गर्न उपत्यका छिरेकाहरुको अन्तर र कथा बेग्लाबेग्लै छ ।
सीप नहुनेहरु शारीरिक बल लगाएर गर्नुपर्ने काममा निर्भर रहनु पर्छ अरु त खोजेर पनि पाइँदैन । शारीरिक रुपमा बल लगाएर गर्ने काममा पारिश्रमिक पनि आकर्षक हुँदैन ।
तर हातमा सीप भएका हरुका लागि भने केही सहज पक्कै छ । सीपयुक्त श्रमिकले कतै न कतै काम पाइहाल्न सक्छन् । सीपयुक्त श्रमिकको माग बजारमा धेरै छ । सीप हातमा भएपछि पर्याप्त अवसर पनि रहन्छ ।
सीप हातमा भएकाहरुको तुलनामा सहयोगी मजदुरको पारिश्रमिक पनि तुलनात्मक रुपमा न्यून छ । न्यून तलबमा कठिन काम गर्नुपर्छ । त्यसैले सीप हातमा भए कामको पनि तनाव नहुने र जीवन धान्न पुग्ने सीप भएकाहरुको भनाई छ ।
तर सीप हातमा नभएकाहरु धेरै बेरोजगार छन् भने न्यून पारिश्रमिकका साथ काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्छन् । केही गर्न सक्ने सीप भएकाहरु वैदेशिक रोजगारीमा समेत राम्रो कमाई गर्छन । सीप नभएकाहरुको दुःख विदेशमा समेत भनिनसक्नु छ ।
सीप भएका र सीप नभएकाहरुले काम गरिरहे पनि उनीहरु आफ्नो भविष्यका बारेमा भने निकै चिन्तित छन् । कुनै कारणवश काम गर्न नसके जीवन निर्वाह गर्ने आधार के हुने भन्ने चिन्ताले उनीहरुलाई सँधै सताइरहेको छ ।
श्रमिकहरुको यही चिन्तालाई सम्बोधन गर्न भन्दै सरकारले अहिले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको जनाएको छ । तर मंसिरमा घोषणा गरेको यो योजना अझैसम्म पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन भने सकेको छैन ।
योजना कार्यान्वयनमा नआउँदा श्रमिकहरु चिन्तित देखिन्छन् । कतिपय श्रमिकलाई यो योजनाबारे पनि जानकारी छैन । योजना श्रमिकको हितमा रहे पनि सम्बन्धित संघसस्थाले सूचिकृत नगरिँदा उनीहरु यो योजनाबाट बन्चित हुनुपर्ने बाध्यता छ ।
आगामी आर्थिक वर्षदेखि अनिवार्य सूचीकृत
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवातदेखि जसरी पनि यो योजना लागू गराएरै छाड्ने जनाएको छ । अहिले परीक्षणका रुपमा रोजगारदाताहरुलाई सूचिकृत हुन आउन बोलाईरहेको र आगामी आर्थिक वर्षदेखि भने अनिवार्य यो योजनामा सहभागी हुनै पर्ने नीति अगाडि सारिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो ।
यो योजनाले श्रमिकहरु लाभान्वित हुने उहाँ बताउनुहुन्छ । योजनाका साथ साथै श्रमिकहरुलाई सीप र दक्षता अभिवृद्धिका लागि आवश्यक तालिम उपलब्ध गराउन मन्त्रालयले नयाँ योजना बनाइरहेको पनि बताउनुभयो ।
मन्त्रालयले अहिले पनि व्यावसायिक तथा सीप विकास तालिम मार्फत वार्षिक रुपमा कार्यक्रम वनाएर सीपमूलक तालिमहरु सञ्चालन गर्ने गरेको छ । युवाहरुलाई स्वरोजगार बनाउन र सीप सिकाइ आत्मनिर्भर बनाउन विभिन्न स्थान र केन्द्रमा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन् ।
साथै घरेलु तथा साना विकास कार्यालयले जिल्ला जिल्लामा पनि सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न सहकारी संघसस्थामार्फत पनि उर्जाशील युवाहरुलाई स्वरोजगार बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने गरेको छ ।
केही गर्न चाहने युवाहरुका लागि सरकारले आफ्ना विभिन्न निकायमार्फत कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आगामी थप योजना हित अगाडि बढिरहेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
तर तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सँगसँगै श्रमिकको भविष्यका बारेमा पनि सरकारले ल्याएको योजना प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु जरुरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ।