हात्तीको दाह्रासहित दुई जना पक्राउ

 बैशाख २०, २०७६ शुक्रबार ६:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुर थिमि नगरपालिका वडा नम्बर–१, कौशलटारबाट प्रहरीले हात्तीको दाह्रासहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाण्डौ स्वयम्भू सानो भर्‍‍याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका ५ घर भई हालस्वयम्भु सानो भर्‍याङ बस्ने २३ वर्षीय भाष्कर पौडेल रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले २५० ग्रामको हात्तीको दाह्रा बिक्रीका लागि लैजाँदै गरेको अबस्थामा एकथान हात्तीको दाह्रासहित पक्राउ गरी अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । 

त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा दुईथान चितुवाको छाला र  भालुको पित्तथैली सहित प्रहरीले पाँच जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका ८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाण्डौ बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर ७ का ३५ वर्षीय रत्न बहादुर माझी र सिन्धुली गोलन्जोर २ का ३४ वर्षीय बिष्णु बहादुर माझी रहेका छन् ।

महानगरीय प्रहरी परिषर भक्तपुरको विशेष टोलीले सूर्यविनायक चोकमा जाँचका क्रममा वन्यजन्तुको छाला र अंग बिक्री गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले निजहरुको साथबाट बरामद गरेको चितुवाको छाला दुई थान, अन्दाजी ७५ ग्रामको भालुको पित्तथैली एक थानसहित बिहीबार सार्वजनिक गरेको हो । बरामद भएको जंगली जनावरको छाला र पित्तथैली डिभिजन वन कार्यालय भक्तपुरमा बुझाएर थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया