पर्यटन प्रबर्द्धनका लागि यूएईमा नेपाली साँझ

 बैशाख २०, २०७६ शुक्रबार १५:४४:४८ | उमाकान्त पाण्डे

यूएई – नेपाल पर्यटन वर्ष २०२० को प्रचारका लागि यूएईमा नेपाली साँझ नेपाली साँझ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र नेपाली दूतावास आबुधाबीको संयुक्त आयोजनामा दुबईमा कार्यक्रम गरिएको हो ।  

कार्यक्रममा उपस्थित विभिन्न देशका नियोगका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरु माझ नेपालको पर्यटकीय गन्तव्य तथा विभिन्न संस्कृति झल्किने वृतचित्र प्रस्तुत गरिएको थियो ।  

अरेबीयन पर्यटकीय मेलामा नेपालले पछिल्ला वर्षहरुमा नियमित सहभागीता जनाउँदै आएको र यसले नेपालको पर्यटक प्रबद्र्धनमा फाइदा पुर्‍याएको पर्यटन विकास बोर्डका प्रवन्धक सुमन घिमिरेल बताउनुभयो । चार दिनसम्म चलेको मेलाको अन्तिम दिन नेपालले नेपाली साँझको आयोजना गरेको हो । 

नेपालको धर्म संस्कृतिप्रति पर्यटकको आकर्षण रहेको भन्दै पर्यटन बोर्डका  निर्देशक  तथा  बोर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले नेपालमा पर्यटकीय पूर्वाधारको  राम्रो व्यवस्थापन भएको जनाउँदै  सबैलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

यूएई विश्व पर्यटकीय  गन्तव्य मुलकका रुपमा रहेकाले पनि यहाँ कार्यरत र दुबई आउने पर्यटकलाई नेपाल लैजान सक्ने अवस्था बने नेपाल पर्यटन वर्षलाई थप मद्दत पुग्ने उहाँको भनाइ छ । 

नेपाली दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले स्वागत मन्तव्य राख्दै नेपाल पर्यटकीय गन्तव्य देश रहेको भन्दै एकपटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गर्नुभयो ।

 कार्यक्रममा नेपालको जानकारी समेटिएको विभिन्न प्रश्नसहितको हाजिरी जवाफ समेत गरिएको थियो । हाजिरी जबाफमा विदेशी सहभागी पाहुनाले चासो दिएर सहभागीता जनाएका थिए ।

विदेशी प्रतिनिधिहरुले नेपालप्रति पर्यटकहरुले सकारात्मक प्रतिक्रिया दिने गरेको बताउँदै एक पटक गएका पर्यटक पटक पटक नेपाल जान चाहेको बताउने गरेको बताएका थिए । 

कार्यक्रममा नेपाली दूतावासका तर्फबाट श्रम काउन्सिलर भेषबहादुर कार्की, तृतीय सचिव नारायण ज्ञवालीको उपस्थिति थियो । यस्तै नेपाली तथा दक्षिण एसियाली नियोगका प्रतिनिधी तथा पर्यटन व्यवसाय गरिरहेका विदेशी कम्पनीका प्रतिनिधि पनि कार्यक्रममा सहभागी भएका थिए । 

अन्तिम अपडेट: चैत २८, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया