संरक्षण र संवर्द्धनकाे अभावमा ओझेलमा पर्दै पवित्र पत्तालभुमेश्वर धाम

 बैशाख २४, २०७६ मंगलबार १९:१०:८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - दशरथचन्द राजमार्गको सुर्नया गाँउपालिका–२, सिउँडेबाट झण्डै १ किलोमिटर भित्र हिँडेपछि पवित्र धाम पत्तालभुमेश्वर र दक्षिण एसियाकै लामो गुफा भएको ठाँउमा पुगिन्छ । 

स्वच्छ तथा सुन्दर ठाउँ, चराचुरङ्गीहरुको चिरबिर अवाजले त्यहाँ पुग्नेहरुको मनै लोभ्याउँछ । अझ त्यो पवित्र स्थानमा पुगेपछि त्याहाँको तालतलैया र परम्परागत मठमन्दिरले धेरैको मन शान्त हुने गर्दछ ।

जति वर्णन गरे पनि नसकिने र एकचोटी पुग्नैपर्ने ठाँउ हो, पत्तालभुमेश्वर धाम ।

बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको सिमानामा रहेको प्रसिद्ध पत्तालभुमेश्वर धाम ओझेलमा पर्दै गएको छ । सरकारको उदासीनताका कारण धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पातालभुमेश्वर धाम ओझेलमा पर्दै गएको हो ।

पत्तालभुमेश्वर धाममा कहिले नसुक्ने पानीको ताल, लामो गुफा र बाक्लो जंगलको बीचमा भगवान शिवको मन्दिर भएको पातालभुमेश्वर धाम प्रचारप्रसारकै अभावमा ओझेलमा परेको सुर्नया गाँउपालिका–२ का स्थानीय मोहनबहादुर बिष्टले बताउनुभयो । 

यो पवित्र धाममा प्रवेश गर्यो भने पनि मनै शान्त हुने गरेको अनुभव उहाँले सुनाउनुभयो । सुन्दर र शान्त वातावरण रहेको पत्तालभुमेश्वरधाम धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले पनि एकचोटी सबैले पुग्नैपर्नेमा उहाँले जोड दिनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो पत्तालभुमेश्वरधाम । यस क्षेत्रको विविध विशेषताहरु भए पनि पत्ताललभुमेश्वर धामको विकास र प्रचारमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान नगएको स्थानीय नरेन्द्रबहादुर बिष्टले गुनासो गर्नुभयो । 

परापूर्वकालमा सतीदेवीको पाइताला खसेर पत्तालभुमेश्वर महादेव स्थापना भएको किम्बदन्ती एकातिर छ भने पत्तालभुमेश्वरको गुफा भएर पाण्डवहरु वनवास गएको अर्को किम्बदन्ती पनि रहेको बिष्टले बताउनुभयो । 

तर स्थानीय सरकार लगायतका अन्य सरोकारवालाहरुले यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा पत्तालभुमेश्वर धाम ओझेलमा पर्दै गएको उहाँको भनाइ छ ।

स्थानीय स्तरबाट यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि थोरै प्रयासहरु गरिए पनि ती प्रयासहरुले निरन्तरता नपाउँदा यस क्षेत्रको संरक्षण र प्रचारप्रसार हुन नसकेको स्थानीयबासीहरुले बताएका छन् । 

प्रवासमा मजदुरी गरिरहेका युवाहरुले केही भौतिक संरचना बनाउने काम गरेको भए पनि बजेट अभावमा त्यसको संरक्षण नहँुदा समस्या हुने गरेको स्थानीय दिप बिष्टले जानकारी दिनुभयो । यसको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पत्तालभुमेश्वर धाममा रहेको कहिल्यै पनि पानी नसुक्ने तलाउलाई सीताकुण्डको रुपमा समेत चिनिने गरेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । पत्तालभुमेश्वर धाममा पुग्ने बाटो, खानेपानी, विद्युत लगायतको अन्य व्यवस्था गर्न सक्यो भने पर्यटकहरुलाई आकर्षित गर्न सकिने स्थानीयहरुको बुझाइ रहेको छ । यी संरचना निर्माणका लागि तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा स्थानीयवासीहरुको जोड दिएका छन् ।

पत्तालभुमेश्वर धाम लगायतका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासका लागि गाउँपालिकाले पहल थाल्ने गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । 
गाँउपालिकाभित्र रहेका यस्ता ऐतिहासिक स्थलहरुको संरक्षणका तथा संवद्र्धनका लागि सरोकारवालाहरु सँग सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत ९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया