कपिलवस्तुमा शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद

 बैशाख २९, २०७६ आइतबार ८:४६:५१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु –  कृषकहरुले सहज रुपमा युरिया मल पाउन नसकेका बेला कपिलवस्तुमा दुईओटा ठूला प्लाइउड उद्योगबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुराकीको आधारमा शिवराज नगरपालिका– ७ मा रहेको जय अम्बे प्लाइउड उद्योग र लोहरौलामा रहेको पशुपति प्लाइउड इण्डष्ट्रिज कम्पनीबाट २ हजार ६ सय ३० बोरा मल नियन्त्रणमा लिएको हो । कम्पनीबाट झार्दै गरेको ४ सय ४० बोरा मल कम्पनीमा र बाँकी मल कन्टेनरमै राखी प्रशासनले थप अनुसन्धान थालेको छ । 

नियन्त्रणमा लिइएको यो कन्टेनर वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको छ । चीनबाट खरिद गरिएको उक्त परिमाणको युरिया मल भारतको कलकत्ता बन्दरगाह हुँदै सुनौली नाकाबाट भित्रिएको थियो । यस अघि लुकीछिपी सहुलियत दरकै मल कृषि सामाग्री कम्पनी लिमिटेडसँगको मिलोमतोमा खरिद गर्दै आएको उद्योगले यस पटक ठूलो परिमाणमा युरिया मल चीनबाट खरिद गरेर ल्याएको हो ।

आफूहरुले सरकारसँगको स्वीकृतिमा चीनबाट युरिया मल खरिद गरी ल्याएको  र यो खरिद पूर्ण रुपमा वैध रहेको पशुपति प्लाइउड इण्ड्ष्ट्रिजका सञ्चालक अशोक कुमार अग्रवालले बताउनुभयो ।

किसानहरुलाई मल उपलब्ध गराउन सरकारले खासै चासो नदिने र उद्योगीहरुका लागि विशेष पहल गर्ने परिपाटीको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चौधरीले विरोध जनाएका छन् । यसै गरी कपिलवस्तु किसान संघका अध्यक्ष चतुुर्भुजमणी त्रिपाठीले कृषकहरुलाई सहज ढंगबाट युरिया मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।  


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया