विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको कारोबार बन्द हुने

 जेठ १, २०७६ बुधबार १०:४७:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले तोकिएको समयमा विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको  अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोबार बन्द गर्ने चेतावनी दिएको छ । 

इजाजत प्राप्त म्यानपावर कम्पनीको सम्पूर्ण विवरण जेठ ३ गतेभित्र अद्यावधिक नगरे कारोबार बन्द गर्ने चेतावानी दिएको हो । 

विभागले म्यानपावर कम्पनीहरुलाई  वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न दिएको समय थप गर्दै जेठ ३ गतेसम्मको समय दिएको छ ।

यो अवधिभित्र पनि विवरण अद्यावधिक नगर्ने कम्पनीको कारोबार बन्द गर्ने र कारोबार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न नपाउने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो । 

म्यानपावर कम्पनीले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ कम्पनी दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । 

विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ । ८० भन्दा बढी म्यानपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया