भक्तपुरमा एकै साता तीन बालिका बलात्कार, तीन आराेपित पक्राउ

 जेठ १, २०७६ बुधबार १६:३८:० | उज्यालो सहकर्मी

भक्तपुर - एकैसाता तीन बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परसर भक्तपुरले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

एक १५ वर्षीया बालिकालाई डरधम्की देखाइ पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा पदमपुर घर भएर हाल भक्तपुर नगरपालिका-२ सल्लाघारी बस्ने १८ वर्षीय बिजय भुजेललाई पक्राऊ गरेको हाे ।

गएकाे २८ गते सर्लाहीकाे हरिवन नगरपालिका-११ घर भएर हाल सल्लाघारी बस्ने बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा पीडित बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले पक्राऊ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी गएकाे २७ गते डर धम्की देखाइ सूर्यविनायक नगरपालिका-९ नंखेलको सिटी गाउँ होटलमा लगेर १५ वर्षीया अर्की बालिकालाई बलात्कार गरेको अभियोगमा बर्दियाकाे बैदी नगरपालिका-१० घर भएर हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पक्राऊ गरेको हाे ।

बालिकाकी आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चाैधरीलाई पक्राऊ गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी सिन्धुपाल्चोक चौतारा गाउँपालिका-९ घर भएर हाल मध्यपुरथिमि नगरपालिका-७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका ४ घर भएर हाल मध्यपुरथिमी नगरपालिका-९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राऊ गरेको हाे ।

पक्राऊ परेका तीनै जनालाई हिरासतमा राखेर जबरजस्ती करणी ऐन अन्तर्गतकाे मुद्धामा आवश्यक अनुसन्धान अगाडि बढाइएको हरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया