नेपथ्यले ल्यायाे हिमाल पहाड संवादको ‘नासै छ्याँबा’ गीतकाे म्यूजिक भिडियो

 जेठ १, २०७६ बुधबार २०:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ काे म्यूजिक भिडियोमा सार्वजनिक भएको छ ।

‘नासै छ्याँबा मनो ह्योल’ काे अर्थ ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’ भन्ने हुन्छ अनि चेलीबेटीहरुलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने गीतकाे म्युजिक भिडियाे नेपथ्यले उपलब्ध गराएकाे हाे ।

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए । यसको रेकर्ड भने त्यसको चार वर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’ एल्बमका निम्ति गरिएको थियो ।

पदयात्रीहरुका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरु भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ । बाटैमा मुक्तिनाथ पनि पर्छ । स्थानीयहरुका निम्ति भने यहि मार्गले साँस्कृतिक सामाजिक महत्व पनि समेटेको छ । मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन् । बाटोमा मुक्तिनाथ दर्शन गर्छन् । त्यसैगरि जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन् । यसरी ओहोर दोहोर गर्नेहरुको भावनालाई आधार बनाएरै यो गीत लेखिएको हो ।

गीतमा उधौली उभौलीको कुरा पनि छ । त्यसलाई अर्को अन्तराले यसरी भन्छ–

‘वैशाख पूर्णे उभौली लाग्यो हिमाल काट्यो चरीले

चकितै पारी लाएको माया सम्झ्यो कि पापीले

मायाको याद मिठो

उजेलो उजेलो’

‘मलाइ धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो,’ अमृत भन्छन्, ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ ।’ तर, गीत पूरा हुने बेलामा भने नेपाली अन्तराहरु थपिन पुगे ।

‘त्यो बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो,’ अमृतले थपे, ‘त्यसैले गीतको पछिल्लो भाग चाहिँ नेपालीमै पुरा गरेको हुँ ।’ यो गीत विशेषतः पहाड र हिमालका वासिन्दाहरुको बीचमा संवाद पनि भएको अमृत सुनाउछन् ।

‘यसरी हिमाल र पहाड गरेर दुइ फरक प्रकृति र भूगोल समेटिएको यस गीतमा मैले तराइको झलक पनि आओस् भनेर संगीत चाहिँ दीपचण्डी तालमा गरेको हुँ,’ अमृतले थपे, ‘यो ताल प्रायः तराइकै गीतहरुमा प्रयोग हुन्छ ।’

‘पुराना गीतहरुलाई यूट्यूब दर्शकको निम्ति फेरि ताजा गर्ने उद्देश्यले यसको भिडियो तयार पारेका हौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस गीतलाई लाइभ कन्सर्ट गर्दाको फुटेज र अमृतले त्यस भेगमा यात्रा गर्दा खिचेका तस्बिरहरु समायोजन गरेर म्यूजिक भिडियो तयार पारिएको हो ।’

 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया