सरकारलाई नेता नेपालकाे चेतावनी : ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौँ, ख्याल गर्नुहोस् दुई तिहाई होइन

 जेठ १, २०७६ बुधबार १७:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  सत्तारुढ दलका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अंहकार छोडी नागरिकको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । 

युवा संघ नेपालको २९ औ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्‍याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाइ लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिनुभएको हो । उहाँले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, 'हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर,मर्कामा सहयोगी भयौँ भने , जनताको दु:ख कष्टमा साथ दियौ भने अनि जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौँ । ख्याल गर्नुहोस् । ख्याल गर्नुहोस् । यस अर्थमा पनि जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने धेरै । सुन्ने कम ।'

अहिले सम्पूर्ण कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परीक्षण भैरहेको भन्दै उहाँले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्नेतर्फ विचार पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरि संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।  

उहाँले भन्नुभयो, 'हाम्रो आचरण र व्यवहारमा कतै ठूला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृतिहरु झांगिएका त छैनन् ? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसँग जोडिएको होस् । पारदर्शीता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मूल्यांकन गरिन्छ कि गरिँदैन ? यी जम्मै कुराहरुलाई हेर्नुहोस् । किनभने अन्त्यमा तपाईँको व्यवहारले नै मान्छेको मन जित्छ ।'

भाषणको प्रतिस्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन सुरु गरेका पूर्व प्रधानमन्त्री नेपालले सामाजिक न्यायसहितको समृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासंग जोडिएको गास बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठूलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको प्रसंग उल्लेख गर्दै उहाँले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उ

हाँले चुनावदेखि नै प्रगति गरेको भए पनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले भन्नुभयो, 'प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौँ । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो केबाट गर्न सक्छौँ ? राम्रो कामबाट ।'

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया