कर्तव्य ज्यान मुद्दामा पाँच जना प्रहरीविरुद्ध उजुरी

 जेठ १, २०७६ बुधबार १७:४५:१४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - पाटन नगरपालिका ६ लदेडाका स्थानीयले प्रहरीको कुटाइबाट ७४ वर्षीय कमलाकान्त पन्तको मृत्यु भएको आरोप लगाएका छन् ।

मंगलबार राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र हसियाँले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।मृतकका छाेरा पन्तले हसियाँ प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते हुनुभएको छ ।

लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका छन् । लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको थियो । कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच जना प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिनुभएको छ  । 

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भूपेन्द्र महराविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।  

प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ । ज्यान मुद्दामा आरोप लागेका प्रहरीमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया