ललितपुरको ढोलाहिटी हुँदै लेले जाने सडक आज पनि बन्द : ‘धुवाँधुलो अति भो, ठेक्का लाको कति भो ?’

 जेठ २, २०७६ बिहिबार ९:४८:८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयबासिन्दाले बिहीबार पनि ललितपुरको ढोलाहिटी हुँदै लेले जाने सडक बन्द गराएका छन् । उनीहरुले ‘धुवाँधुलो अति भो, ठेक्का लाको कति भो ?’ लेखिएको प्लेकार्डसहित नाराबाजी गर्दै ठेचोदेखि टाहाखेलसम्म र्‍याली निकालेका छन् । सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासिन्दाले गएको आइतबारदेखि सडक बन्द गराएका हुन् । 

सडक विस्तारको काम अलपत्र रहेको र सडकमा कालोपत्रे नहुँदा धुँवाधुलोले हैरान भएपछि सडक बन्द गर्नुपरेको उनीहरुको भनाइ छ । बुधबार स्थानीयबासीन्दा, उपत्यका सडक विस्तार आयोजना र निर्माण ब्यवसायीबीच तत्काल बनाउनुपर्ने ठाउँमा सडक अवस्था हेरेर ग्राभेलदेखि कालोपत्रे गर्ने सहमति भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सहमति अनुसार टाहाखेलमा ग्राभेल गर्न थालिए पनि पानी परेपछि काम रोकिएको आयोजना प्रमुख अर्जुन अर्यालले बताउनुभयो । उहाँले सडकको अवस्था हेरेर खाल्डाखुल्डी पुर्नेदेखि अस्थायी कालोपत्रेसम्म गर्न लागिएको जानकारी दिनुभयो ।

तर स्थानीयबासिन्दाले कालोपत्रे नै गर्नुपर्ने माग गर्दै बिहीबार पनि बिहानैदेखि सडक बन्द गरेका छन् । स्थानीयले सातदोबाटोबाट चल्ने गाडीलाई सुनाकोठीबाट र लेलेबाट चल्ने गाडीलाई प्याङगाउँबाट फर्काइदिएका छन् । यो बाटोको विकल्पमा चापागाउँबाट झरुवारासी, गोदावरी, ठैव हुँदै सातदोबाटो निस्कन सकिने छ भने लेलेबाट छम्पी, भैसेपाटी हुँदै जावलाखेल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सकिनेछ । 

२०७१ सालमा टेण्डर भए पनि यो सडक अझै बनेको छैन । काठमाण्डौ उपत्यका विकास प्राधिकरणले स्थानीयलाई मुआब्जा दिने रकम नभएकाले सडक छेउका घर भत्काउन नसकिएको जनाएको छ । प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले घर भत्काएपछि स्थानीयलाई दिनुपर्ने क्षतिपूर्ति रकम नभएका कारण घर भत्काउन नसकिएको बताउनुभयो । 

सडक विभागले भने सडक छेउका घर नभत्काउँदा सडक विस्तारको काम सुरु गर्न नसकिएको दाबी गरेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया