अछाममा सवस्टेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न

 जेठ २, २०७६ बिहिबार १३:१८:३१ | चन्द्र थापा
unn.prixa.net

अछाम – कमलबजारमा भइरहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनको काम तीव्र गतिमा भइरहेको छ । अछाम जिल्लाको पूर्वी अछामका गाउँलाई ११–३३ केभीए राष्ट्रिय प्रशारण लाइनको पहुँचमा ल्याउने उद्देश्यले निर्माण भइरहेको सवस्टेशनको पूर्वाधार निर्माण कार्य सुरु भएको ५ महिनामा झण्डै ८० प्रतशत काम सम्पन्न भएको हो ।

सबस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले इनर्जेटिक नेपाल प्रालिसँग २०७६ जेठ २७ भित्री काम सम्पन्न गर्ने गरी २०७४ मंसिर २७ मा सम्झौता गरेको थियो । जग्गाको प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ गरेको कम्पनीले २०७५ पुस २० गते अर्थात भण्डै १३ महिना पछि मात्रै काम सुरु गरेको थियो ।

ढिलो गरि काम  सुरु गरेको कम्पनीले ५ महिनाको अवधिमा (वैशाख मसान्त सम्म) कम्पाउण्ड निर्माणदेखि ४ कोठे स्टाफ क्वार्टर, ४ कोठे कन्ट्रोल विल्डिङ, स्विच यार्ड बनाउने काम करिब सम्पन्न गर्न लागेको कम्पनीका साइट इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । 

छिटो विजुली बाल्नका लागि सरोकारवाला निकायबाट ताकेता र महत्वपूर्ण सहयोग मिलेकाले काम सुरु गरेको ५ महिनामै आफूहरु ८० प्रतिशत काम सक्न  सफल भएको निर्माण कम्पनीका इञ्जिनियर अरुणकुमार शाहले  बताउनुभयो । 

मजदुरहरु समेत भारतबाट ल्याएर काम गरिरहेको कम्पनीले छोटो अवधिमै काम सम्पन्न गर्ने तयारी गरिरहेको छ । सवस्टेशन निर्माण कार्य धमाधम भैरँहदा पूर्वी अछामका ४ स्थानीय तहमा उज्यालोका  लागि आशा पलाएको  कमलबजार नगरप्रमुख  ओमप्रकाश विष्टले  बताउनुभयो । उहाँले भन्नुभयो ‘जग्गाको प्रक्रिया मिलाएर ढिला गरी काम सुरु गरेको कम्पनीले काम एकदमै राम्रो गरेको छ, म आफैँ हरेक हप्ता निर्माण स्थल पुगेर सुझाव दिने र ताकेता गर्ने गरेको छु ।’

निर्माणाधिन कमलबजार सवस्टेशन सम्मका लागि प्रशारण लाइनको काम पनि भैरहेको छ । कमलबजारबाट गैरिटाँडसम्म र साँफेबगरबाट कैलाशखोलासम्मको लाइन तान्ने काम धमाधम भैरहेको छ । बीचको खण्डमा पनि काम सुचारुका लागि परामर्श भैरहेको मेयर विष्टले जानकारी दिनुभयो ।

सुरुमा जग्गाको प्रक्रियाका कारण काम सुरु हुन ढिलाइ भए पनि अहिलेसम्मको प्रगति हेर्दा निकै राम्रो रहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका इञ्जििनियर चिज गुरुङले जानकारी दिनुभयो । अहिलेसम्मको कामको  मुल्यांकन गरी टेण्डरको म्याद थप हुनसक्ने र ढिलोमा २०७६ चैत मसान्तसम्म सवस्टेशनको निर्माण कार्य सम्पन्न भैसक्नेमा आफूहरु विश्वस्त रहेको इञ्जिनियरर गुरुङले बताउनुभयो । 

निर्माण कम्पनीले सिभिलतर्फको काम सक्नैलाग्दा रनिङ बिल उठाउने क्रममा रहेको बताइएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियामार्फत कमलबजार सवस्टेशनका लागि ७ करोडमा ठेक्का सम्झौता गरिएको छ ।

यस्तै सुदूरपश्चिमका अन्य ४ स्थानमा पनि सवस्टेशन निर्माणको काम भैरहेको छ भने ३ ठाउँमा सवस्टेशनका लागि टेण्डर प्रक्रिया चलिरहेको छ । निर्माण कार्य भैरहेकोमा बझाङको बागथला र चैनपुर, डोटीको मौवा र दार्चुलाको थालिगाड सवस्टेशन हन् भने बैतडीको मेलौली र पाटन तथा बाजुराको मार्तडीमा सवस्टेशनकालागि टेण्डर प्रक्रिया चलिरहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय अत्तरियाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया