यस्ताे छ माेरङमा रहेकाे मदन भण्डारीको घर (फाेटाेसहित)

 जेठ ३, २०७६ शुक्रबार १७:४१:२४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङको रतुमाई नगरपालिका वडा नम्बर–१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घरमा  भेटिनुभयो,  घनश्याम भण्डारी । 

उहाँ मदन भण्डारीको घरको रुँगुवाको काम गर्नुहुन्छ । उहाँसँगै उहाँकी श्रीमती यसोदा र  २ छोरा पनि थिए । २०६३ साल अगाडि खाली रहेको यो घर अहिले यो परिवारले संरक्षण गर्दै आएको छ । यहाँ जाने जो कोहीलाई यो घरको अवस्थाबारे जानकारी दिने अधिकार यो परिवारलाई छैन । 

यस अघि भनिएका कुराले गलत सन्देश गयो भनेर यस्तो भनिएको भण्डारीले बताउनुभयो ।  यहाँ मदन भण्डारीको यो घरको बारेमा सोधीखोजी गर्न जाने जो कोहीले पनि घर भएको भन्दा करिब ५ सय मिटर पूर्वमा रहेका शिवराज पौडेललाई भेट्नु पर्छ । शिवराज पौडेल मदन भण्डारीसँगै हुर्किएका र उनीसँगै खेलेका, सँगै पढेका र ताप्लेजुङदेखि ईटहरासम्म सँगै आएर बसेका ब्यक्ति हुनुहुन्छ । उहाँले बाहेक ईटहरामा रहेको मदन भण्डारीको त्यो बेलाको अवस्थाका बारेमा कसैले पनि भन्न सक्दैन । 

इटहराको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले  सौन्दर्य प्रदान गरेको छ । 

काठै काठले बनाएको घर २ तलाको छ । यो घरको तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतीविधि गर्ने भएकोले  माथिल्लो तलालाई खाली नै राखिएको छ । 

अहिले संरक्षण समिति बनाएर काम भए पनि प्रभावकारी हुन नसकेको मदनग्राम पूर्वाधार संरक्षण समितिका संयोजक शिवराज पौडेलले बताउनु भयो । उहाँका अनुसार मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्नुहुन्थ्यो । तर २०४७ सालपछि मदन यता फर्किनुभएन ।

२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबाआमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो । त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो । 

यसको चहल पहल हराएका कारण रुपमा स्थानीयले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नै दोषी देख्छन्  । 
मदन भण्डारीको नाममा बनाउने भनिएको संग्रहालय उर्लाबारीमा बनाएपछि स्थानीय रुष्ट छन् । संग्रहालय बनेर यस ठाउँको मुहार केही फेरिएला भन्ने आशा गरेका स्थानीय निराश भएका छन् । तर मदन भण्डारीको घरमा बनाइनुपर्ने संग्रहालयलाई प्रतिष्ठानले आफ्नै कार्यालय भएको ठाउँमा राखेपछि यसको महत्व हराएको स्थानीयको बुझाइ छ । 

मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची कालीसम्म पुर्‍याउने काम यही इटहराको सातमेडीबाट गरेको उहाँलाई नजिकैबाट नियालेकाहरु बताउँछन्  । 

मदनको योगदानलाई सबैले कदर गरे पनि, मदन भण्डारीको घर नैै प्रतिष्ठानको नाममा गए पनि प्रतिष्ठानले भने मदन भण्डारीको यो घरको संरक्षण तथा त्यहाँको साढे ४ बिगाहा जग्गालाई संरक्षण दिन नसकेकोमा स्थानीय रुष्ट भएका हुन् । 

भर्खरै दर्ता भएको मदन-आश्रित फाउण्डेशनका संयोजक मेघराज कट्टेलले अहिलेसम्म ईटहराको मदन भण्डारीको अस्तित्व नै खतरामा पार्ने गरी काम भएको बताउनुभयो ।
 
‘सम्पूर्ण कम्युनिष्ट पार्टी तयार पार्ने कर्म यहीँबाट भएको हो,’ कट्टेलले भन्नुभयो, ‘तत्कालीन अवस्थामा मदन भण्डारी प्रतिष्ठानले संरक्षण गर्छ भनेर मदन भण्डारीको सबै घर जग्गा संस्थाको नाममा गयो तर त्यसको भोगचलन पारिवारिक उपयोगका लागि मात्र प्रयोग गरिएको छ ।’ 

पटक पटक संरक्षणको लागि सुझाव, सल्लाह आग्रह र अनुग्रह गरिएको भए पनि सोचे अनुसारको काम हुन नसकेको उहाँले बताउनु भयो । राष्ट्रपतिको रुपमा रहनुभएकी मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ । 

यस ठाउँमा देखाउन मिल्ने खालका कामहरु हुन नसकेको स्थानीयहरु बताउँछन् । मदन भण्डारीको संग्रहालय यहीँ राखिनुपर्ने तथा मदन भण्डारीको कर्मथलो र कम्युनिष्ट जन्माउने नेकपाको तीर्थस्थलको रुपमा इटहरालाई विकास गरिनुपर्ने उनीहरुको भनाइ छ । 

मदन भण्डारी प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जन्मथलो ताप्लेजुङको ढुङगेसाँघुमा घर बनाइएको तथा कर्मथलो मोरङको इटहराको घर र जग्गालाई संग्रहित गरिएको बताउनु भयो । अध्यक्ष बरालले मदन भण्डारीको कर्मथलो इटहरा भए पनि अहोरात्र हिँड्ने ठाउँ उर्लाबारी नै भएकोले सबैलाई पायक पर्ने गरी संग्रहालय उर्लाबारीमा बनाइएको जानकारी दिनुभयो । 

तर उर्लाबारीमा संग्रहालय बनाए पनि कर्मथलो इटहरालाई बेवास्ता गर्ने कुनै उदेश्य नरहेको उहाँले बताउनुभयो । 
‘मदन भण्डारीको अनुकरणीय विचार र सिद्धान्त बुझाउन सामुदायिक गतिविधि, अनुकरणीय र आदर्श नमुना गाउँ बनाउने भनेर विशेषज्ञबाट खोज र अन्वेषणको काम भइरहेको  छ,’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया