सिरुखर्कका अग्निपीडितको बिचल्लीः दिनभर रुखमुनि, रातभर पालमुनि

 जेठ ४, २०७६ शनिबार १९:३१:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - शनिबार बिहानै सिरुखर्क गाउँमा पुग्दा देवीराम थापा चौरमा बिच्छाइएको त्रिपालको छेउमै बसेर खाना खाइरहनु भएको थियो । खाना खाइसकेर उहाँसहित छिमेकी नजिकै रहेको वनबाट काठ संकलन गरी बस्ने घरको जोहो लगाउने तयारीमा हुनुुहुन्थ्याे ।

उहाँसगै छिमेकमा भएका पुरुषहरु घर बनाउने काठको जोहो गर्न जंगल जाने तयारीमा थिए भने महिला र केटाकेटी त्रिपालको गर्मी छल्न ठूलो रुखमुनि शीतल खोज्न जाने तयारीमा थिए । जेठ महिनाकाे घाम, नजिकैको जंगलमा डढेलो लागेको र पिउने पानीकोसमेत अभाव रहेको सिरुखर्कका अग्निपीडितले निकै दुःख भएको गुनासो गरेका छन् ।

गएको वैशाख २५ गते वनमा लागेको डढेलोले आफ्नो घरगोठ जलेपछि देवीरामसँगै सिरुखर्क गाउँका ५ परिवारको बिचल्ली भएको छ ।

बस्ने घरगोठ आगोले जलेर बिचल्लीमा परेकाहरुलाई नेपाल रेडक्रस सोसाइटीले ओत लाग्ने त्रिपाल र केही अन्नपात तथा जिल्ला प्रशासन कार्यालयबाट प्रारम्भिक क्षतिको विवरणका आधारमा प्रति परिवार पाँचदेखि १० हजारसम्म राहत दिइएको छ । 

अग्निपीडितहरुले भने यो राहत अपुग भएको गुनासो गरेका छन् । सरकारले आफूहरुलाई वास्ता नगरेको गुनासो छ, पीडित गोपे थापाको । ‘सबैले गर्छाैँ गर्छाैँ मात्रै भन्नुहुन्छ तर हाम्रो बिचल्ली छ, मुश्किलले पालमुनि रात कटाउँछौ, घाम लाग्दा यहाँ बस्न सकिँदैन, रुखमुनि जान्छौँ’, थापाले भन्नुभयो । 

थापा परिवारसँगै सिरुखर्क र तल्लो मालेगाउँका ९ परिवारको १८ भन्दा बढी घरगोठ जल्दा ५२ लाख भन्दा बढी क्षति भएको छ । घोराही उपमहानगरपालिका १ का वडा सदस्य छविलाल घर्तिले वर्षा सुरु हुनुभन्दा पहिले नै सबै अग्निपीडितहरुलाई टिनले छाएको घर बनाउने तयारीमा लागेको बताउनुभयो । 

राहत संकलन समिति गठन

अग्निपीडितहरुलाई एकीकृत ररुपमा राहत संकलन गरी उनीहरुको स्थायी बसोबास र अन्य सहयोग गर्नका लागि शनिबार राहत संकलन समिति गठन गरिएको छ । घोराही उपमहानगरपालिका १ का सदस्य छविलाल घर्तीको संयोजकत्वमा गठित समितिको सदस्यमा सुग्रीव वली, डिल्लिराज ज्ञवाली (विमल), गोकर्ण वली र देवीराम थापा रहनु भएको छ । समितिले गाउँगाउँमा पुगेर राहत संकलन गरी साना किसान तथा सहकारी संस्था लिमिटेड रामपुरमा जम्मा गर्ने र एकिकृत रुपमा राहत वितरण गर्ने निर्णय समेत गरेको संयोजक घर्तिले जानकारी दिनुभयो ।

अग्निपीडितलाई वलीकाे एक लाख सहयोग

घोराही उपमहानगरपालिका-१, सिरुखर्क र तल्लोमाले गाउँका अग्निपीडित परिवारलाई सुग्रीव वलिले नगद एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । आफू पनि छिमेकी गाउँको बासिन्दा भएको र स्थानीयको दुःखमा सहयोगका लागि आफूले सहयोग गरेको वलीले बताउनुभयो । 

यसैगरी साना किसान तथा सहकारी संस्था लिमिटेड रामपुरका प्रबन्धक डिल्लिराज ज्ञवाली विमलले पाँच हजार नगद सहयोग गर्नु भएको छ । त्यस्तै, गोकर्ण वलीले प्रति परिवार १५ किलोका दरले चामल र तरकारी सहयोग गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया