मरिण गाँउपालिकाले लागू गर्‍याे स्थानीय पाठ्यक्रम

 जेठ ४, २०७६ शनिबार १५:९:२० | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको मरिण गाँउपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरेको छ । 

स्थानीय विषय वस्तुलाई बुझाउने गरी पठ्यक्रम निर्माण गरेर चालु शैक्षिक सत्रबाट लागू गरिएको गाँउपालिकाले जनाएको छ । पाठ्यक्रममा स्थानीय चाडपर्व, भूगोल, वनस्पति, पर्यावरण भू–विज्ञान, व्यक्तित्व, धर्म, संस्कृति, मेला लगायतलाई समेटेर नौ वटा इकाईमा तयार गरिएको छ । 

गाँउपालिकाका शिक्षा प्रमुख नवराज बरालले गाँउपालिका अन्तर्गत रहेका ४८ वटा सामुदायिक विद्यालयको कक्षा १ देखि ५ सम्म त्याे पाठ्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाठ्यक्रम तयार भएपछि शिक्षकलाई तालिम दिनुका साथै सबै विद्यालयमा पाठ्यपुस्तक र निर्देशिका पठाइसकिएको छ ।’

स्थानीय पाठ्यक्रम एक सय पूर्णाङकको रहेको र अतिरिक्त अङग्रेजी विषयको सट्टामा स्थानीय पायक्रमको पढाइ सुरु गरिएको उहाँले जानकारी दिनुभयो । देशमै पहिलो पटक मरिणा गाँउपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको उहाँको दावी छ ।

मरिण गाँउपालिकाको अघिल्लाे वर्ष असारमा सम्पन्न तेस्रो गाससभाले स्थानीय पाठ्यक्रम बनाई सामुदायिक विद्यालयमा लागू गर्ने निर्णय पास गरेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया