हत्या, हिंसा तथा बलात्कारजन्य घटना उल्लेख्य संख्यामा बढेको प्रहरीकाे भनाइ

 जेठ ५, २०७६ आइतबार १९:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ । 

काठमाण्डौमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्र्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताउनुभएको हो ।

उहाँले गाँजा, चरेस सेवनलगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि भएको बताउनुभयो । उहाँले हत्या, हिंसा र बलात्कारका घटना गएकाे वर्षभन्दा दोब्बर वृद्धि भएको बताउनुभयो । साथै निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको बताउनुभयो ।

उहाँले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराधभन्दा सामाजिक विकृतिको कारणले सिर्जित अपराध बढेको बताउनुभयो । उहाँले ५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमान्ले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको बताउनुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ । उहाँले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाइएको बताउनुभयो ।

उहाँले बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको बताउनुभयो । उहाँले पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ बर्षभन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी, सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताउनुभयो । उहाँका अनुसार यसअघि १६ बर्षभन्दा माथि उमेर समूहका बालिकामाथि बलात्कार दर बढ्दो थियो ।

उहाँले शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भन्दै अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई आह्वान गर्नुभयो ।

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया