६ लेन सडकको काममा चरम लापरवाही: सडककाे बिजुलीकाे खम्बा नहटाइ कालाेपत्रे

 जेठ ५, २०७६ आइतबार २०:३८:४४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - माेरङकाे ६ लेन परियोजनामा चरम लापरवाही रुपमा काम भएको पाइएको छ ।

विराटनगरको रानीदेखि धरासम्मको ६ लेन सडक परियोजनाले गरेको भएपनि धेरै कामहरु लापरवाहीपूर्ण भएको स्थानीलयले बताएका छन् । निर्माण भएका संरचनाहरुमा पनि इन्जिनियरिङ भन्दापनि ठेकेदारको आफुखुशी बनाएको पाइन्छ । २०७०सालदेखि निर्माण सुरु भएको ६ लेन सडक परियोजनाको काममा ढिलाइका कारण लामो समय बितिसकेको छ भने निर्माणका संरचना पनि गुणस्तरीय नभएको पाइएको छ ।

बनेका सडकमा मात्र लापरावाही भएको छैन, निर्माणाधीन सडकमा समेत लापरवाही देखिएको छ । प्रदेश १ को राजधानी विराटनगरको  मुख्यद्धार प्रवेशस्थलमा नै सडकको बीचमा बिजुलीकाे खम्बा भएपनि कालोपत्रे गरिएको छ । झण्डै एक दर्जन बिजुलीका खम्बाहरुलाई सडकको बीचमै छाडेर ठेकेदार कम्पनीले कालोपत्रे गरेको हो ।

दुग्ध विकास संस्थान देखि नेमुवा नहरसम्मको ठेकेदारको जिम्मा पाएको शर्मा कान्छाराम जेबीले काम गर्दैगर्दा खम्बा बीच भागमा नै छाडेर सडक कालोपत्रे गरेपछि थप लापरवाही पुर्ण काम भएको स्थानीय बताउँछन्  ।

सडकको ठेक्का सम्झौता अनुसार दुग्ध विकास संस्थानदेखि नेमुवासम्म ३ प्याकेजमा ठेक्का लगाइएको छ । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत डीडीसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम सुरु भएको छ ।

शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्नेगरी सम्झौता गरेको भए पनि २०७६ असार मसान्तमा पनि काम सक्न मुस्किल परेपछि सडकको बीचमै बिजुलीको खम्बा भए पनि कालोपत्रे गरिएको हो ।  करिब ७ अर्बको लागतमा निर्माण भएको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काममा दुध फारमदेखि नेमुवासम्म  ९० करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सडक निर्माणको काममा यस्ताे भएको हो ।

६ लेन परियोजनाका इन्जिनियर उपेन्द्र दासले साइट पुरै क्लियर गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याका कारण यस्तो भएको बताउनुभयाे । विद्युत प्राधिकरण र परियोजनाबीच कुरा नमिल्दा समस्या भएको हो ।  

सडक क्रसिङ गराउनका लागि ओभरहेडबाट क्रसिङ गर्नु पर्ने सम्झौता भएपनि त्यसो नगर्न परिपत्र आएपछि अण्डरग्राउण्डबाट क्रसिङ गर्न बजेट अभावका कारण समस्या भएको दासले बताउनुभयाे ।  ‘तत्काललाई समस्या देखिएकोले त्यसै छाडेर अरु काम अगाडि बढाइएको हो, इन्जिनियर दासले भन्नुभयाे, ‘पछिल्लो परिपत्रका अनुसार अण्डरग्राउण्डबाट क्रसिङ गर्ने हो भने रानीदेखि इटहरीसम्म २० देखि २२ करोड स्टिमेट बजेट बढी देखिएपछि समस्या भयो ।’

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले त्यहाँको समस्या प्राधिकरण या परियोजनाको मात्र नभइ सबैको समस्या भएकोले त्यसबारेमा छलफल भइरहेको बताउनुभयाे ।

‘अहिले पनि सडकको डिभिजन प्रमुख सँग छलफल भईरहेको छ, प्रमुख सिंहले भने, त्यसरी पोल बिच बाटोमै छाड्नु पर्छ भन्ने हैन, त्यो केही दिन भित्रै उखेल्ने काम हुन्छ ।’ अन्यत्रको समेत तार फेर्नको लागि टेण्डर लगाइसकेकोले पोल सार्न तथा तारहरु फेर्नको लागि चाँडै काम सुरु हुने सिंहको भनाइ छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया