राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी रानाले ल्याए ‘दरबारको दुःखान्त’

 जेठ ६, २०७६ सोमबार १५:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  आजभन्दा १८ वर्षअघि भएको नारायणहिटी राजदरबार हत्याकाण्ड अझै पनि रहस्यमै रहेको छ ।

तत्कालीन राजा विरेन्द्रको वंश नै सकाउने गरी भएको हत्याकाण्ड के थियो, कसरी भएको थियो ? भन्नेबारे धेरै कुरा बाहिर आएका छैनन् । विवेक शाहले ‘मैले देखेको दरबार’मा केही कुरा खोतले पनि त्यसले रहस्यको पर्दाफास भने गर्न सकेको छैन ।

तर पछिल्लो पटक भने एक जना पूर्व सैन्य अधिकारीले राजदरबार हत्याकाण्डबारे केही खुलासा गरेका छन् ।  नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गरेका छन् ।

२०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप राना । दरबार हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’  सोमबारदेखि बजारमा आएको छ ।

तत्कालीन राजा, रानी र युवराजको एडीसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घटनाहरुका साक्षी पनि हुन् राना । त्यससम्बन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरु यो पुस्तकमा भएको उनी बताउँछन् ।

‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरि मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो’, एडिसी राना भन्छन्, ‘दरबारको दुःखान्त’ पुस्तक मेरो त्यही छटपटीको अवतरण हो ।’

प्रमुख एडीसी रानाले कूल १९ वटा अध्यायमा बाँडिएको यो पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घटना र त्यसपछिका दृश्यावलीको विस्तृत वर्णन गरेका छन् । उनी भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।’

पुस्तक दरबार हत्याकाण्डको वरिपरिमात्र घुमेको छैन । तत्कालीन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाइहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्धलगायत थुप्रै निजी प्रसंगहरु पनि यसमा समाविष्ट छन् ।

राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ ।

समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । 

यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया