जैविक विविधता दिवसमा वृक्षारोपण

 जेठ ८, २०७६ बुधबार १२:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय जैविक विविधता दिवस बुधबार  नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । 

दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाण्डौको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना गर्‍यो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको विरुवा रोपेर कार्यक्रम शुभारम्भ गर्नुभयो । 

त्यस क्रममा मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद् तथा स्थानीयले पनि वृक्षरोपण गर्नुभयो । कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आमनागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न नसक्ने भन्दै उहाँले आम नागरिकको सहभागिताका लागि अपील गर्नुभयो  । ‘जैविक विविधताको संरक्षण सरकार एक्लैले गरेर सम्भव छैन’, मन्त्री बस्नेतले भन्नुभयो, ‘सरकारले नेतृत्व लिन्छ । स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ ।’ 

सरकारले जैविक विविधता संरक्षणलाई आफ्नो प्राथमिक कार्य सूचीमा राखेको भन्दै मन्त्री बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्याप्त ध्यान दिइएको जानकारी दिनुभयो ।  दिवसको यो वर्षको नारा ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ भन्ने रहेको छ ।

सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ ।

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया