प्रसूति गृह र वीर अस्पतालको भवन पुनर्निर्माण अन्तिम चरणमा

 जेठ ८, २०७६ बुधबार १५:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  २०७२ सालमा आएको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसूति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

अस्पताल प्रशासनहरुका अनुसार, एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनर्निर्माण गरिएको हो ।

प्रसूति गृहको अत्याधुनिक मुख्य भवनमा एक सय ९२ वटा शैया छन् । प्रसूति गृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुनेछन् । प्रसूति गृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रुपमा संरचना मिलाउने कार्य भैरहेको बताउनुभयो ।   

वीर अस्पतालको भवनमा भने ९४ शैया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्डलगायत हुनेछन् । 

पुनर्निर्माण भैरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको ‘अझ राम्रो र बलियो’ अवधारणा अनुसार स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण भैरहेको बताउनुभयो । 

उहाँले सुविधासम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्य सेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा व्यक्त गर्नुभयो । वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उद्घाटनपछि सञ्चालनमा ल्याइने बताउनुभयो । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का पुनस्र्थापना तथा पुनर्लाभ कार्यक्रम सल्लाहकार नानाको स्युकाहाराका अनुसार, प्रसूति गृह र वीर अस्पताल पुननिर्माणको लागत दुई अर्ब १० करोड रुपैयाँ (२.४ बिलियन जापनी यन) रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया