विद्युत प्राधिकरणको सवस्टेशन सुधार अभियान : राजापुर सवस्टेशन सञ्चालन,२० हजार ग्राहकलाई गुणस्तरीय बिजुली

 जेठ १०, २०७६ शुक्रबार १४:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बर्दियाको राजापुर क्षेत्रको  विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सवस्टेशन सञ्चालनमा आएको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट (केभी) राजापुर सवस्टेशन बुधबारदेखि सञ्चालनमा आएको हो । यसबाट त्यस क्षेत्रका झण्डै २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत प्रयोग गर्न पाउने भएका छन् ।

कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले  भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुनेलगायतका समस्या थिए’,उहाँले भन्नुभयो, ‘अब टिकापुरबाट ३३ केभीबाट राजापुर सवस्टेशन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’  

राजापुर सवस्टेशनबाट ३ वटा फिडरहरु राखिएको छ । त्यसमध्ये ११ केभीका दुईवटा फिडरहरुबाट विद्युत आपूर्ति गरिएको प्राधिकरणका नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो । प्राधिकरणले सवस्टेशन निर्माणका लागि आर्थिक वर्ष ०७१/७२मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२को असारबाट कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सवस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रीड र २० वटा वितरण सवस्टेशनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजारकोटको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलियालगायतका सवस्टेशन संचालनमा आइसकेका छन् ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सवस्टेशनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आउँदा दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सवस्टेशनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सवस्टेशन बनाउनेलगायतका काम गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया