दोलखाको सोती बजारमा आगलागी, ४ घर जलेर नष्ट

 जेठ १२, २०७६ आइतबार ९:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा आइतबार बिहान आगलागी हुँदा पसलसहितको ४ ओटा घर जलेको छ । अन्य दुईवटा घरमा पनि आंशिक क्षति पुगेको छ ।

सोती बजारमा रहेको घनश्याम उप्रेति, चित्रबहादुर खरेल, राजेन्द्र सेढाई र नारायणप्रसाद शिवाकोटीको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । त्यसैगरी पदमराज शिवाकोटी र विष्णु शिवाकोटीको घरमा आशिंक क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजीत तामाङले जानकारी दिनुभयो ।

क्षति पुगेका घर मध्ये उप्रेतिको इलेक्ट्रोनिक पसल, खरेलको होटल, सेढाइको होटल र पसल सञ्चालनमा थियो । राजेन्द्र सेढाइको घरमा नै बासु खरेलले होटल सञ्चालन गर्नुभएको थियो ।

होटल र पसल सञ्चालन गरिएका घरहरुमा आगलागी हुँदा करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

आगलागीका कारण सुनखानीको ठकर्पुमा रहेको विद्या विकास बोर्डिङ स्कुलको पार्क गरिराखेको बा १३ च ३४८४ नम्बरको स्कुल बसमा समेत क्षति पुगेको छ ।

राति साढे एकबजेदेखि लागेको आगो भिमेश्वर नगरपालिकाको दमकल, सुरक्षाकर्मीसहित स्थानीयबासीन्दाले बिहान ८ बजे नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया