मन्त्री यादवद्वारा फलाम खानीको अवलोकन, औद्योगिक परीक्षणका लागि नमुना संकलन

 जेठ १२, २०७६ आइतबार १३:२६:३८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – खानी तथा भूगर्भ विभागले फलाम खानीको औद्योगिक परीक्षणका लागि नमुना संकलन कार्य अगाडि बढाएको छ । शनिबार विभागका कर्मचारी औद्योगिक परिक्षणका लागि नमुना संकलन गर्न धौवादी आइपुगेका हुन् । शनिबार नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलेसमेत फलाम खानीको अवलोकन गर्नुभएको छ ।

फलाम खानीको औद्योगिक परीक्षणको नमुना संकलनको काम अगाडि बढ्दै गर्दा मन्त्री यादवले फलाम खानीको अवलोकन गर्दै अब सरकारले फलाम उत्पादनका लागि उद्योग स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।

धौवादीको फलाम खानीले स्थानीयमा जगाएको विकासको आशा

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जियोलोजिष्ट नारायणप्रसाद बास्कोटाका अनुसार विभागले अहिले अन्तिम चरणको परीक्षणको काम गर्न लागेको हो । अहिले गर्न लागिएको औद्योगिक परीक्षणले उद्योगबाट कति फलाम उत्पादन गर्न सकिन्छ, उद्योग स्थापनाका लागि कति लगानी गर्न सकिन्छ, कहा“ उद्योग स्थापना गर्न सकिन्छ भन्ने विषयमा निर्क्याैल गर्न सकिने जियोलोजिष्ट बास्कोटाले बताउनुभयो । यता मन्त्री यादवले सरकारको नीति तथा कार्यक्रममा समेत खानी सञ्चालनको विषय परिसकेकाले साझा लगानी गरेर उत्पादन कार्य थालिने बताउनुभयो ।

विभागको टोली १५ दिनसम्म फलामखानीमा रहेर यहाँका विभिन्न १६ स्थानबाट ५ हजार किलोग्राम नमुना परीक्षणका लागि संकलन गर्नेछ । संकलन गरिएको नमुनाको औद्योगिक परीक्षणका लागि चीन वा भारत पठाइने र कम्तीमा तीन महिनामा नतिजा आउने जियोलोजिष्ट बास्कोटाले जानकारी दिनुभयो ।

फलाम उत्पादन गर्न  सकिने देखिएपछि विभागले अन्तिम चरणमा औद्योगिक परीक्षणको कार्य अगाडि बढाएको हो । नवलपुरका प्रतिनीधि सभा सदस्य तिलक महतले खानी सञ्चालनले नेपालको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुर्‍याउने बताउनु भयो । खानी सञ्चालन पश्चात् रोजगारको समेत सिर्जना हुने र यसले सुखी नेपाली सम्बृद्ध नेपाल निर्माणको अभियानलाई सहयोग पुर्‍याउने बताउनु भयो ।

रुकुम पूर्वमा तामाखानी ! सुनको सिरानी, नुनको खोजी !

यता धौवादीका स्थानीयले उद्योग, वाणिज्य तथा आपूर्ती  मन्त्री मातृका यादवलाई अनुरोध पत्र बुझाएका थिए । स्थानीयले खानी सञ्चालन हुने कुराले आफूहरु धेरै खुशी रहेको बताउँदै उनीहरुले  स्थानीयलाई रोजगार, शेयर लगानीमा प्राथमिकता दिनुपर्ने, यस क्षेत्रका एक जनालाई वार्षिक रुपमा प्राविधिक शिक्षाका लागि छात्रवृत्ती प्रदान गरिदिन, पहाडी क्षेत्रमा स्वास्थ्य उपचारको समस्या भएकाले उद्योगका कामदार  र स्थानीयलाई उपचार गर्न मिल्ने गरी अस्पताल स्थापनाको लागि पहल गरिदिन आग्रह समेत गरेका थिए ।

वि.सं. ०६८ सालामा खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । सात वर्ष पछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो ।

पूर्व पश्चिम राजमार्गदेखि करिब १६ किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिका अन्र्तगत पर्ने धौवादी क्षेत्रमा फलाम खानी रहेको छ । यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी  रहेको जनाइएको छ । धौवादीको फलाम खानी  अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो  खानी भएको भूगर्भविदले बताएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया