ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
बझाङ – जयपृथ्वी नगरपालिका वडा नम्बर–१, कैलाश घर भएका विजय शाहीका जेठा छोरा हुन् प्रज्ज्वल । उनको जन्म २०५१ सालमा आमा जानकीदेवी शाहीको कोख बाट जन्म भएको थियो । शाही अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत थिए ।
उनी बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ छिरेका थिए । उनले २ भाइ विवश र विश्वजन र २ बहिनी मनिषा र कलशालाई पनि काठमाण्डौमै पढाउन लगेका थिए ।
सीटीईभीटीबाट सम्बन्धन प्राप्त ओम समाज कलेजबाट एचए सकाएका उनी कलेज पढ्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाई बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो ।
गोरो र उज्यालो अनुहारका प्रज्ज्वल नामजस्तै उज्याला र हँसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृत्युको खबरले कैलाश पिमी गाउ शोकमा डुबेको छ । सहनशील, लगनशील र निश्चल स्वाभावका शाहीको मृत्युले गाउँका धेरै मानिसको मन रुवाएको छ । उनको परिवारलाई यो घटना अपत्यारिलो लागेको छ ।
‘छोरा प्रज्ज्वल घरमा आँउदा अब हाम्रा दुःखका दिन गए भन्दै हामीलाई मख्ख बनाउँथ्यो । बुढेसकालमा तपाईँलाई केही पनि दुःख हुन दिन्न आमा भन्थ्यो’, प्रज्ज्वलकी आमा जानकीदेवी शाही भक्कानिँदै छोराको कुरा सम्झनुहुन्छ ।
‘अब हाम्रा लागि मात्रै हैन आमा देशका लागि नै सोच्नु पर्छ भन्थ्यो । दशैँको टीकाको दिन सामान्य कुराकानी गर्दा हामी जस्ता दुःखी गरिबहरुका लागि अब मजस्तै छोराहरुले लड्ने हो आमा भनेको थियो । त्यो क्षणमा मैले छोराले ठिकै भन्यो क्यारे भन्ठानेकी थिए । तर मैले छोरा के काम गरिरहेको छ कस्तो बाटोमा हिँड्दै छ भनेर कहिल्यै पनि राम्रोसँग सोधिनँ । राम्रै काम छ, भाइबहिनी र हजुरहरुको जिम्मा अब मेरो भयो भनेको थियो । हो, काम पनि त्यस्तै गरेको थियो । के थाहा दैव यति चाँडै निष्ठुरी होला भनेर । फागुन महिनाको अन्तिम भेट रहेछ छोरासँग । घरमा राम्रोसँग बस्न पनि बसेन । दुईचार दिन मात्रै घरमा बसेर फेरि काठमाण्डौ गइहाल्यो’, जानकीदेवीले भन्नुभयो ।
प्रज्ज्वलले आफूहरु देश बनाउने राम्रै काममा लागेको बताउँदै बुवा विजय शाही भन्नुहुन्छ, ‘हामीहरु अब देशमा केही हुँदैन होला । शान्ति भैसकेको छ । यस्तो बम बारुदले कसैले पनि मर्न पर्दैन भनेर ढुक्क थियौँ । यस्तो घटनाको कल्पनासम्म समेत गर्न सकेका थिएनौँ । मेरो छोराले नै बममा परेर मर्नुपर्यो । मेरो छोरा त बितिसक्यो । मेरा सबै सपना छोरासँगै मरेर गए । सबै सपना अधुरा नै रहे । बुढेसकालमा बिरामी हुँदा छोराको हातबाट सिटामोल खान पाउँला भन्ने ठूलो धोको थियो । अब भनेर साध्य नै छैन । तर अब यसरी कसैले पनि मर्न नपरोस् । हाम्रो बुढेसकालको सहारा त्यही जेठो छोरा थियो । अब हामी त केबल जिउँदो लास भएर बाँच्नु पर्ने भयो । छोराको लाससम्म समेत देख्न पाएनौँ ।’
गाउँ नै शोकमा
काठमाण्डौको घट्टेकुलोमा बम विस्फोटमा परि भौतिक जीवन गुमाएका एक युवा प्रज्ज्वल शाहीको मृत्युको खबरले परिवार नै शोकमा डुबेको छ । उनी नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमबारका लागि घोषणा गरेको थियो ।
बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट भएसँगै शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रज्ज्वल शाहीको मृत्यु भएको समाचार आएपछि सामाजिक सञ्जाल नै स्तब्धताले भरिएको छ ।
शाहीको मृत्युले परिवारको बिचल्ली भएको छ । परिवारको जिम्मेवारी आफूले बोकेका शाहीका भाइ बहिनीको पढाइ पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताउनुभयो । उनको घरमा बुवाले सामान्य गाउँमा व्यापारले छोराछोरीको पढाइ खर्च धान्न नसकिने उनका आफन्तले बताएका छन् ।
उनका भाइ बहिनी काठमाण्डौ गएको सात वर्ष पुगिसकेको छ । अब उनका भाइ बहिनीलाई दाइको मृत्युले बीच बाटैमा बिचल्ली पारेको छ । भाइ बहिनीको अभिभावक भएर बसेका शाहीले बीच बाटोमै चटक्क छोडेर गएपछि उनका भाइ बहिनीको उच्च शिक्षामा समेत बिराम लाग्ने हो कि भन्ने डर आमाबुवालाई रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।