एभरेस्ट म्यारथन १७ औं संस्करणको उपाधि सुमन र सुनमायालाई

 जेठ १५, २०७६ बुधबार १४:१५:३५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – तेन्जिङ-हिलारी एभरेस्ट म्याराथन १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फकाे उपाधि सुनमाया बुढाले हात पारेका छन् । 

६६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरे भने महिलातर्फ सुनमाया बुढाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पूरा गरिन् । 

पुरुषतर्फ कपिलदेव बुढा निर्धारित दूरी ३ घण्टा ५६ मिनेटमा पार गर्दै दोस्रो र रामकुमार राजभण्डारी ३ घण्टा ५८ मिनेटमा पार गर्दै तेस्रो भए । 

महिलातर्फ रोजिना भण्डारी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दूरी पार गर्दै दास्रो र हुमी बुढा मगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पार गर्दै तेस्रो भए ।   

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुँदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको थियो । 

महिला र पुरुष दुवै प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार हात पारे । 

यसैगरी स्ट्रीम अल्ट्रा एभरेष्ट म्यारथनको उपाधि किरण कुलुङले हात पारेका छन् । सगरमाथाको आधारशिविरबाट शुरु भएर बिभिन्न बस्ती हुँदै नाम्चेसम्मको ६० किलोमिटर दूरी किरणले ७ घण्टा १४ मिनेट १० सेकेण्डमा पुूरा गरेर उपाधि जितेका हुन् ।

यस्तै दोश्रो हुने अर्जुन कुलुङले ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा पूरा गरे भने ७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै पूर्ण तामाङ्ग तेश्रो भए । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया